काठमाडौं । आज माघ महिनाको एक गते । नेपालीले मनाउने विभिन्न चाडपर्व मध्येको एक पर्व हो माघे सङ्क्रान्ति । यो पर्वलाई मकर सङ्क्रान्ति, माघी, माघे सङ्क्रान्ति आदि नामले चिनिन्छ ।
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई माघे सङ्क्रान्ति भनिन्छ । आजदेखि उत्तरायण सुरू हुने भएकाले दिनभन्दा रात छोटो हुँदै जानेछ । आजको दिन स्नान, जप, तप, ध्यान, साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । आजको दिन देवघाट, कालीगण्डकी, वागमती, इन्द्रावती, त्रिवेणीलगायतका स्थानमा विशेष मेला लाग्ने गर्दछ ।



तराईवासीले यो दिनलाई नुहाउने पर्वका रूपमा मनाउँछन् । आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनोकामना पूर्ण हुने जनविश्वास रहेको छ । यो दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाइन्छ । आजको दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, ननुहाउने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने धर्मग्रन्थमा उल्लेख गरिएको छ ।
चाडपर्वको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी ओलीलगायतका शुभकामना व्यक्त गर्नुभएको छ ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा माघीजस्ता चाडपर्वले नेपालीबीच आपसी मेलमिलाप, बन्धुत्व र सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ पार्न मद्दत पुग्नेमा विश्वास व्यक्त गरेका छन् ।



