थापाथलीस्थित परोपकार प्रसुति गृह तथा स्त्री रोग अस्पतालबाट शिशु हराएको घटना अहिले भाईरल बनेको छ । शिशु हराएको घटनालाई लिएर जिल्ला प्रहरी परिसर, काठमाडौंले संदिग्ध महिलाको खोजी थालेको छ ।
अनुसन्धान अधिकृतहरुले संकलन गरेको क्लोज सर्किट (सीसी) क्यामराको फुटेजमा समेत ती महिला कैद भएकी छिन् । मास्क लगाएकी महिलाले काभ्रेकी एक महिलाले जन्मदिएको २६ दिनको शिशु लिएर हिँड्दै गरेको सीसी टीभीमा देखिएको छ । अनुसन्धान अधिकृतहरुले फुटेजका आधारमा शिशुको र ति महिलाको खोजी थालेका जानकारी दिएको छ । शुक्रबार १२ बजेतिर शिशु हराएको भन्दै प्रहरी कहा खबर गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले सञ्चारमाध्यमलाई जानकारी दिएका हुन ।



अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले सञ्चारमाध्यमसँग कुरा गर्दै पीडित महिला ओपीडी जाँचका लागि अस्पताल पुगेका बेला शिशु चोरी भएको बताएका छन् । ‘चिनजान नभएको महिलालाई एकछिन बच्चा हेरिदिनु भन्दै रिपोर्ट लिन जानुभएको रहेछ’, उनले भने, ‘आउँदा महिला हिँडिसक्नु भएको रहेछ ।’ प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



