काठमाडौं- धादिङमा बुधबार बिहान भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ। कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको बस बुधबार बिहान करिब चारबजेतिर धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा दुर्घटनामा परेको हो।दुर्घटनामा एक महिला र पाँच पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ।बस पृथ्वीराजमार्गबाट करिब एक सय मिटर तल त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिएकाहुन।
दुर्घटनामा ३६ जना घाइतेलाई उद्धार गरेर गजुरी अस्पताल पठाइएको डीएसपी केसीले बताए । घाइतेहरुमध्य केहिको अवस्था गम्भीर रहेको कारण मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ। दुर्घटना स्थलमा अझै केही बेपत्ता भएको हुनसक्ने आशंकामा खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ। घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीबल, नेपाली सेना तथा स्थानीयले उद्धार गरिरहेका छन्। सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि खटिएको छ।



बसचालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका–९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनले बसमा ४९ जना सवार रहेको जानकारी प्रहरीलाइ दिएका छन् भने बसको सहचालक घाईते भएकाछन् । मृतक ६ जनाकै सनाखत हुन भने बाँकी छ।




