मुलुकमा खाद्यान्न आयात १६ प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको आठ महिना साउन–फागुनसम्ममा चामल, धान, मकै गहुँ, जौ, कोदो ३२ अर्ब २९ करोड ९६ लाख रुपियाँ बराबर आयात भएको हो । गत वर्ष सो अवधिमा ३८ अर्ब ८३ करोड ८५ लाख ७५ हजार रुपियाँ बराबरको खाद्यान्न आयात भएको थियो । गत वर्षको तुलनामा छ अर्ब रुपियाँ बराबरको खाद्यान्न आयात कम हो ।
गत वर्षको तुलनामा चामल, धान र मकैको आयातमा कमी आएको छ । आन्तरिक उत्पादन वृद्धिसँगै बजारमा खाद्यान्नको माग कम हुँदा आयातमा समेत कमी आएको हो । आठ महिनामा छ अर्ब ३९ करोड ६२ लाख १३ हजार रुपियाँ बराबरको चामल आयात भएको छ । गत वर्ष सो अवधिमा ११ अर्ब ७६ करोड ३८ लाख ३५ हजार रुपियाँको आयात भएको थियो । आठ महिनामा आठ अर्ब ६४ करोड ८८ लाख ८९ हजार रुपियाँ बराबरको धान आयात भएको छ । यस्तै आठ महिनामा नौ अर्ब २७ करोड ५५ लाख चार हजार रुपियाँ बराबरको मकै आयात भएको छ ।



यस्तै आठ महिनामा दुई अर्ब ६७ करोड ९६ लाख ८४ हजार रुपियाँ बराबरको गहुँ आयात भएको छ । यस्तै १७ करोड २८ लाख पाँच हजार रुपियाँ बराबरको जौ, ५७ करोड ५२ लाख ८७ हजार रुपियाँ बराबरको कोदो आयात भएको छ । नेपालमा खाद्यान्न छिमेकी मुलुक भारत, थाइल्यान्ड, अस्टे«ेलिया, हङकङ, इटाली, कोरिया, क्यानडा, जर्मनीलगायतका मुलुकबाट खाद्यान्न आयात हुने गरेको छ ।



