काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई लिखित जवाफ पेश गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीले प्राधिकरणले उद्योगमा काटेको लाईन तुरुन्त जडान गर्न भनेपनि अटेर गरेको भन्दै प्रधानमन्त्रीले ठाडो आदेश दिंदै लिखित जवाफसहित उपस्थित हुन निर्देशन दिनुभएको हो ।
प्रधानमन्त्री निवास बालु्वाटारमा भएको उद्योगीसँगको छलफलपछि प्रधानमन्त्री ओलीले निर्देशक घिसिङलाई शुक्रबार नै लाइन जोड्न निर्देशन दिनुभएको थियो ।
प्रधानमन्त्रीको निर्देशनपछि घिसिङले बोर्डको बैठकले निर्णय गरेर मात्रै लाइन जोड्ने जवाफ दिनुभएको थियो । त्यसपछि शुक्रबार बेलुका नै बोर्डको बैठक बसेको थियो ।



बैठकले ऊर्जा मन्त्रालयको लिखित निर्देशन नआएसम्म काटिएका उद्योगमा बिजुली नजोड्ने अडान लिएको प्राधिकरणका सूचना अधिकारी चन्दन कुमार घोषले जानकारी दिनुभयो । अब लिखित निर्देशन आएपछि मात्रै बोर्डको बैठकले त्यसलाई अनुमोदन गर्ने र लाइन जोडिदिने बताउनु भयो ।
प्राधिकरणले ६१ उद्योगले प्रयोग गरेको डेडिकेटेड र ट्रंकलाइनको जरिवानासहित आठ अर्ब २६ करोड बक्यौता तिर्न बाँकी छ । ३ अर्ब ६५ करोड बक्यौता तिर्न बाँकी जगदम्बा स्टिल, जगदम्बा सिन्थेटिक्स, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट र हुलास स्टिलको लाइन प्राधिकरणले काटिदिएको छ ।



