काठमाडौं । नेकपा माओवादी केन्द्रले बृहत् बामपन्थी एकताका लागि पहल गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल बृहत् वामपन्थी एकताका लागि पहल गर्ने र स्पष्ट कार्यदिशाका साथ जनतामा जाने प्रस्ताव राखेका हुन् ।
माओवादी प्रवक्ता अग्नि प्रसाद सापकोटाले देश र जनताको एजेण्डालाई प्रभावकारी रूपमा सदन र सडकमार्फत उठाउने, संघर्षका कार्यक्रमलाई दुबै स्थानबाट प्रभावकारी रूपमा उठाउने र बृहत् वामपन्थी एकताका लागि पहल गर्ने विषयमा छलफल भएको बताउनु भयो । अध्यक्ष दाहालले मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टीले आगामी दिनमा लिने कार्यदिशा, विचार निर्माणलगायत विषयमा आफ्नो विचार राख्नुभएको थियो । अध्यक्षले राखेको धारणाका आधारमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्नि सापकोटा, उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुनले आफ्नो मन्तव्य राख्नुभएको थियो ।



बैठकमा नेताहरू परशुराम तामाङ, सुरेन्द्र कार्की, गणेशमान पुन, कुलप्रसाद केसी, गणेश साह, देवेन्द्र पौडेल, अमृता थापामगर, चक्रपाणि खनालले पार्टीको कार्यदिशा र भावी रणनीतिका बारेमा विचार राखेका थिए । बैठक आइतबार बिहान ११ बजे पुनः बस्नेछ ।



