झापा । झापाको भद्रपुरस्थित ओम साई पाथिभरा अस्पतालले नेपालमै पहिलो पटक डिएनए परीक्षण सेवाको सुरू गरेको छ ।
तीन महिना अघि झापाकै बिर्तामोडबाट मेरो डिएनए कार्यक्रम मार्फत भारतीय व्यानरमा परीक्षण सेवा सुरूवात गरेको अस्पतालले आफ्नै नामबाट भने भद्रपुरमा नेपालमै पहिलो पटक डिएनए परीक्षण सेवा सुरु गरेको हो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिपक पोखरेलका अनुसार ६ वर्ष अगाडि अमेरिकाबाट सुरू भएको अत्याधुनिक रोग पहिचान सेवा मानव जीवनमा एक पटक मात्र परीक्षण गर्दा सबै पक्षको जानकारी दिने डिएनए परीक्षण सेवाको नेपालमै पहिलो पटक सुरूवात गरिएको जानकारी दिनुभएको हो ।



दुई वर्षमाथिका मानिसको परीक्षण हुने डिएनए परीक्षणले मानिसका शरीरमा भइरहेका तथा हुन सक्ने रोग तथा शारिरीक बनोटको बारेमा जानकारी दिने हुँदा शरीर भित्रका रोगको पहिचान गरी उपचार सेवाको अवसर मिलाउन सकिने अध्यक्ष पोखरेलले जानकारी दिनुभयो । भारतमा दुई वर्षअघि सुरू भएको डिएनए टेस्ट जीवनमै एक पटक मात्र गरिने परीक्षण रहेको जानकारी दिनभुयो ।
यो टेस्टमा १३१ प्रकारका परीक्षण हुने भएकाले मानव शरीरका लागि आवश्यक तत्व, वंशाणु–परम्परागत रोग, भविष्यमा आउन सक्ने रोगका बारेमा ९९.९९ प्रतिशत विश्वासनीय रिपोर्ट आउँछ ।
१६५ प्रकारका औषधी उपचारका क्रममा शरीरले स्वीकार्छ वा स्वीकार्दैन भन्ने तथ्य समेत डिएनए टेस्टबाट पत्ता लाग्ने जानकारी दिँदै हरेक व्यक्तिले आफ्नो स्वास्थ्य र आयुको सही जानकारी लिनका लागि एक पटक परीक्षण गर्नै पर्नेमा जोड दिनुभयो । ओमसाई पाथिभरामा यो परीक्षणको शुल्क २५ हजार रुपैयाँ तोकिएको छ । परीक्षणको सम्पूर्ण रिपोर्ट आउन तीन साता लाग्नेछ ।



