सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत प्राप्त गर्नुभएको हो । शाहले सभामा पेश गर्नुभएको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा ३६ जना प्रदेश सभा सदस्यले मतदान गरेका छन् । ५३ सदस्यीय प्रदेश सभामा शाहलाई नेपाली कांग्रेसका १८, नेकपा एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका ७ गरेर ३६ जना प्रदेश सभा सदस्यले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका थिए ।
नेकपा माओवादी केन्द्रका ४ र नेकपा एकीकृत समाजवादी पार्टीका ४ गरेर ८ जना प्रदेश सभा सदस्यले विपक्षमा मतदान गरेका थिए । स्वतन्त्र प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशी भने तटस्थ बस्नुभएको थियो ।



बैठकमा राप्रपाकी खेमादेवी बिष्ट र माओवादी केन्द्रका ६ जना प्रदेश सभा सदस्य बैठकमा उपस्थित थिएनन् । सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्री शाहले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा बहुमत प्रदेश सभा सदस्यले मतदान गरेको भन्दै प्रदेश सभाबाट प्रस्ताव स्वीकृत भएको घोषणा गर्नुभएको थियो ।



