काठमाडौं । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज । अटल सौभाग्यको कामनासहित विवाहित नारीले श्रीमानको दीर्घायुको कामना गर्दै ब्रत बसी मनाउँदै छन् ।

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्वमा भगवान शिवको पूजा आराधना गरिन्छ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । आजैको दिन कठोर व्रत बस्दा मनोकामना पूरा हुने धार्मिक विश्वास पनि छ । तीज पर्वको अवसरमा पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा महिला भक्तजनहरुको चहलपहल बढेको छ ।

ब्रतको अघिल्लो दिन दर खाएपछि सुरु भएको तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

पञ्चांगमा आज १५ घडी ५७ पला अर्थात् मध्याह्न १२ बजेर ८ मिनेटसम्म तृतीया तिथि रहने र त्यसपछि चतुर्थी (चौथी) लाग्ने छ । सत्ययुगमा हिमालय र मेनकाकी पुत्री पार्वतीले निराहार व्रत बसी कठिन तपस्या गरेको र महादेव पति पाएको पौराणिक सन्दर्भ छ । सक्नेले दिनभर पानीसमेत नखाई व्रत बस्ने साँझ पौराणिक विधिले उमामहेश्वरको पूजा गर्ने, कथा सुन्ने विधान छ । विवाहिताले पति र छोराछोरीको सुस्वास्थ्यको कामना गर्ने र अविवाहिताले असल पतिको कामनामा व्रत बस्ने परम्परा छ ।

काठमाडौंस्थित पशुपतिनाथ, गोकर्णेश्वर, ललितपुरको कुम्भेश्वर, सन्तानेश्वर, सिन्धुलीको कुशेश्वर, सिन्धुपाल्चोकको फटकेश्वर, दोलखाको भीमेश्वर र चन्द्रागिरिको चन्दनभर्राटेश्वर महादेव मन्दिरलगायत शिवालयमा श्रद्धालुको घुइँचो लागेको छ । पशुपतिनाथमा बिहान ३ बजे नै देखि दर्शनको व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय