धनकुटा । स्काईवाक निर्माणसँगै धनकुटाको भेडेटारमा पर्यटकको संख्या बढ्न थालेको छ । कोरोनापछि सुस्ताएको भेडेटारको पर्यटकीय गतिविधि स्काईवाक निर्माणपछि एकाएक आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा बृद्धि हुन थालेको हो ।

धनकुटाको साँगुरीगढी गाउँपालिका ६ भेडेटारलाई साहसिक पर्यटनको हब बनाउन चाल्स पोइन्टमा स्काइवाक टावर संचालनमा आएसँगै चहलपहल बढेको हो । नेपालमै नयाँ र साहसीक गन्तब्यमा मनोरञ्जन लिन अहिले दैनिक ३ सय र शनिबार २ हजार भन्दा बढी पर्यटक पुग्ने गर्दछन् । स्काईवाक परियोजनाले प्रत्यक्ष र अप्रत्यक्ष गरी १२० जनाभन्दा बढीलाई रोजगारीको अवसर सिर्जना गरेको छ ।

एघार रोपनीमा रहेको स्काइवाकको लम्बाइ ४१ मिटर, चौडाइ २ मिटर र १८ दशमलब ५ मिटरअग्लो टावर रहेको छ । स्काई वाकबाट पूर्वका १४ जिल्लाका विभिन्न ठाउँहरु नियाल्ल्न सकिन्छ । चार वर्षअघिदेखि निर्माण थालिएको स्काईवाक प्रदेश लगानी प्राधिकरण, धरान उपमहानगरपालिका र साँगुरीगढी गाउँपालिकाको समन्वयमा वन्डर्स एम्युजमेन्ट पार्क प्रालिले २० करोडको लगानीमा निर्माण गरिएको हो । कोरोनापछि थलिएको पर्यटन क्षेत्रलाई चलयमान बनाउन स्काईवाकले महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ ।

स्काइवाक संचालनसँगै नेपालसहित भारतको बिहार, पश्चीमबंगाल, सिक्कीमलगायतको स्थानबाट पर्यटक आउने गरेका छन् । स्काई वाकमा एकपटकमा २५ जनासम्म हिड्न सकिने क्षमता रहेको छ । यहाँ हिँड्दा खुला आकाशमा हिँडेजस्तो अनुभव हुने र साहसिक पर्यटनका पारखीहरुले यसबाट मज्जा लिन सक्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय