काठमाडौं । केही दिन अघिको अविरल वर्षासँगै आएको बाढी पहिरोले त्रिभुवन राजपथ यात्रा गर्नलाई कठिन मात्र होइन महाकठिन भएको छ । सडकको अवरोध त हट्यो तर, पहिरोले सडकमा माटो टाँसिदा हिडडुल गर्न नै नसकिने भएको छ ।

सडकभर माटैमाटो भएकोले सवारी साधन गुडेपछि हुस्सु लागेको भन्दा पनि बढी धुलो उड्ने गरेको छ । पैदल यात्री र मोटरसाइलमा यात्रा गर्ने व्यक्ति धुलोले प्रताडित हुन पुगेका छन् । काठमाडौंको चन्द्रागिरिस्थित गुज्र्रुधाराबाट उड्न सुरु गरेको धुलो त्रिभुवन राजपथको नागढुंगा हुँदै नौविसेसम्म कुइरीमण्डल धुलो खान बाध्य छन् सर्वसाधारण । अझ सडक आसपासका सर्वसाधारणको त कुरै नगरौं । उनीहरु २४सैं घण्टा धुलोले निसास्सिएर बस्न बाध्य छन् । सडकभर माटो टाँसिएकोले गुड्ने सवारी साधनले धुलो उडाउदा सडक धुलोले कुइरीमण्डल भएको छ । यो समस्या अहिले देशैभर रहेको छ ।

अफिस जान वा अन्यत्र कामको लागि निस्किदा घरबाट आफ्नो गन्तव्यस्थलसम्म पुग्दा मान्छेनै नचिनिने अवस्था भएको छ । गाडीमा हिड्नेले त सिसा लगाएर हिड्छन् । उनीहरुलाई न धुलोले छुन्छ न धुँवाले नै । ठूलाबडालाई के थाहा बाटोमा खुल्ला हिड्दाको पीडा । सडकमा हिड्ने र आफ्नो जीविकोपार्जनको लागि साइकल, मोटरसाइकल र लोकल बसमा हिड्नेको पीडा ?

स्थानीय सरकारले सडक सफा गर्ने वातावरण जतिसक्दो चाडो मिलाउनु पर्छ । प्रत्येक वडामा सफाइ गर्ने कर्मचारी र नगर प्रहरी छन् उनीहरुलाई नगरले काम लगाउन सक्नुपर्छ । स्थानीय सरकारले मात्र होइन केन्द्रीय सरकारको पनि ध्यान जानुपर्छ । राज्य सत्ता हाकेर बसेका व्यक्तिहरु हसिमजाक र ख्यालठट्ठा छोडर जनताको समस्या र पीडा देख्न सक्नुपर्छ । जनताले कहिल्यै पनि तीन तहको सरकार छ भन्ने अनुभव त के महसुससम्म पनि गर्न पाएका छैनन् । कार्यकर्ता छोडेर कति जनतालाई त तीन तहको सरकार छ भन्ने पनि थाहा छैन । त्यसैले अब त जाग हो सत्तामा बस्ने सत्ताधारीहरु । जनताले तीनै तहमा सरकार छ भन्ने महसुस त गराऊ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय