काठमाडौं । बडा दशैंको पाँचौं दिन, चतुर्थी तिथि । सोमबार पनि कुष्माण्डा भगवतीको पूजा–आराधना गरिँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले सोमबार बिहान ४० पला अर्थात् बिहान ६ बजेर १६ मिनेटसम्म चतुर्थी तिथि रहेको जनाएको छ ।

समितिले सूर्योदय हुँदा रहेको तिथिको आधारमा सोमबार चतुर्थीकै कर्म गर्न लागिएको बताएको हो । यद्यपि आइतबार पूरै अर्थात् ६० घडी नै चतुर्थी थियो । सोमबार बिहान ६ बजेर १६ मिनेटपछि पञ्चमी लाग्छ । कतिपयले भने सोमबार नवरात्रको पाँचौँ दिन भएकाले पञ्चमीमा गर्ने कर्म नै गर्नुपर्ने तर्क गरेका छन् । उनीहरूका अनुसार स्कन्दमाता देवीको पूजा–आराधना गर्नुपर्छ ।

नवरात्रको चौथो दिन पूजा गरिने देवी कुष्माण्डा नवदुर्गा भगवतीकी चौथो रूप हुन् । यिनी ब्रह्माण्ड उत्पत्तिको कारक मानिएकी छिन् । सिंहमाथि सवार अष्टभुजामा कमण्डलु, कलश, धनु, बाण, कमल, चक्र र गदा आदि शस्त्र–अस्त्र छन् । कुष्माण्डाको आराधनाबाट रोग, शोक र विविध प्रकारका कष्ट निवारण हुने बताइन्छ । नवरात्रमा प्रत्येक दिन नवदुर्गा भगवतीका एक–एक स्वरूपको आराधना गर्ने परम्परा छ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी घडामा आवाहन गरी नौ दिनसम्म दुर्गाको नौ स्वरूपको आराधना गर्ने गरिन्छ ।

पुराणअनुसार विभिन्न समयमा भगवती पार्वतीले लिएको रूपलाई नै नवदुर्गाका रूपमा पूजा आराधना गरिएको हो । दुष्टको विनाश र सज्जनको रक्षाका लागि देवी पार्वतीले समय–समयमा विभिन्न रूप लिएको उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय