काठमाडौं । एएफसी यू–१७ एसियन कप छनोट आजबाट कतारमा सुरु भएको छ । नेपालले आफ्नो पहिलो खेल चार पटकको च्याम्पियन जापानसँग आज खेल्दैछ । साबिकको विजेता जापानसँगको पहिलो खेल हमाद विन खालिफा स्टेडियममा नेपाली समयअनुसार राति साढे १० बजे सुरु हुनेछ ।
नेपाल रहेको समूह ‘एफ’ लाई प्रतियोगितामा सबैभन्दा चुनौतीपूर्ण समूह मानिएको छ । जहाँ नेपालसँगै पूर्वविजेता जापान, कतार र मंगोलिया जस्ता बलिया टोली रहेको छ । जापान, जसले यस प्रतियोगितामा चार पटक उपाधि जितिसकेको छ । यस्तै, कतारले पनि एक पटक प्रतियोगिता जितेको छ । नेपालले दोस्रो खेलमा शुक्रबार घरेलु टोली कतारसँग प्रतिस्पर्धा गर्नेछ भने अन्तिम खेल आइतबार मंगोलियासँग खेल्नेछ । दुबै खेल दोहाको एसपायर एकेडेमी पिचमा नेपाली समयअनुसार राति साढे ८ बजे हुनेछ ।



प्रतियोगितामा ४३ टोलीलाई १० समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष स्थानमा रहने टोली र दोस्रो स्थानका उत्कृष्ट पाँच टोलीले अर्को वर्षको अप्रिलमा साउदी अरेबियामा हुने मुख्य प्रतियोगिताका लागि छनोट हुनेछ । साउदी अरेबिया भने पहिल्यै छनोट भइसकेको छ । अब बाँकी १५ टोली यस छनोट चरणबाट चयन हुनेछ ।



