काठमाडौं । नेपालले श्रीलंकाविरुद्ध पहिलो हाफमा ४–० गोलको अग्रता लिएको छ । साफ वुमन्स च्याम्पियनसीप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालकी रेखा पौडेलले दुई तथा सविता राना मगर र सावित्रा भण्डारी साम्बाले एक–एक गोल गरेका छन् ।
खेलको आठौं मिनेटमा सबिताले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । साफमा पहिलो पटक खेलिरहेकी सावित्राले ११औं मिनेटमा उत्कृष्ट गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् । प्रीति राईको थ्रो पासमा विमल विकले दिएको पासमा सावित्राले गोल गरेकी थिइन् ।



त्यसको दुई मिनेटपछि नै रेखाले अमिसा कार्कीको पासमा नेपालको लागि अर्को गोल थपिन् । अघिल्लो खेलमा माल्दिभ्सविरुद्ध एक्लै पाँच गोल गरेकी रेखाको जारी साफमा यो छैटौं गोल हो । रेखाले नै ३६औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि नेपालले पहिलो हाफमा ४–० को अग्रता बनायो ।



