अमेरिका २०२४ को राष्ट्रपतीय चुनावमा १० दिन मात्र बाँकी रहँदा, राजनीतिक माहोल झनै तातेको छ। दुई प्रमुख प्रतिस्पर्धीहरू-डेमोक्रेटिक पार्टीको तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीकातर्फबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पबीचको प्रतिस्पर्धा अत्यन्तै नजिक छ। प्रारम्भिक रुझानले दुईमध्ये को विजयी हुने भन्ने कुरा अझै स्पष्ट नभए पनि, दुवै प्रत्याशीले निर्णायक स्विङ राज्यहरूमा आक्रामक अभियान चलाइरहेका छन्। २०२४ को चुनाव अमेरिकी इतिहासकै सबैभन्दा रोचक र प्रतिस्पर्धात्मक हुने देखिन्छ।

अमेरिकाका दुई ठूला दलका उम्मेदवारहरूबीचको प्रतिस्पर्धा सन् २०१६ र २०२० को चुनावसँगै धेरै बदलिएको छ। कमला ह्यारिसले पहिलो महिला राष्ट्रपति बन्ने लक्ष्यसहित चुनाव लड्दैछिन्, जसले उनलाई ऐतिहासिक उम्मेदवारको रूपमा उभ्याएको छ । उनका मुख्य मुद्दाहरूमा आर्थिक सुधार, स्वास्थ्य सेवा, र महिला अधिकारसम्बन्धी मुद्दाहरू प्रमुख छन्। ट्रम्प भने पुनः राष्ट्रपतिको दौडमा छन्, यसपटक आफ्नो ‘अमेरिकालाई पुनः महान बनाउने’ अभियानलाई पुनः नयाँ उचाइमा पु(याउने भन्दै उनले मुख्य रूपमा अर्थतन्त्र, आव्रजन, र राष्ट्रिय सुरक्षालाई प्राथमिकता दिएका छन् ।

हालसम्मको सर्वेक्षण अनुसार, राष्ट्रियस्तरमा कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीचको मतान्तर झिनो छ । ुफाइभथर्टीएटु को ट्र्याकिङ पोलले हालसम्म ह्यारिसलाई १ दशमलव ७ प्रतिशतको अग्रता दिएको छ, जुन १० दिनअघि १ दशमलव ८ प्रतिशत थियो। यसको अर्थ, प्रतिस्पर्धा झनै रोमाञ्चक हुँदै गएको छ। तर, अन्तिम निर्णय भने इलेक्टोरल कलेजको मतमा आधारित हुनेछ, जसले स्विङ राज्यहरूमा देखिएका रुझानहरूलाई ध्यान दिनुपर्ने आवश्यकता देखाउँछ। पेन्सिल्भेनिया, उत्तर क्यारोलिना, जर्जिया, मिशिगन, एरिजोना, विस्कोन्सिन, र नेभाडा-यी ७ राज्यहरूमा नै चुनावको निर्णय हुनेछ। यी राज्यहरूमा ट्रम्प र ह्यारिसबीच झिनो प्रतिस्पर्धा छ । जहाँ कुनै पनि सानो परिवर्तनले चुनावको परिणामलाई परिभाषित गर्न सक्छ।

कहाँ कसको अग्रता ?

मिशिगन र विस्कोन्सिनमा ह्यारिसले थोरै अग्रता
पेन्सिल्भेनिया, उत्तर क्यारोलिना, र जर्जियामा ट्रम्पको अग्रता छ
नेभाडामा दुवै उम्मेदवार करिब बराबरी अवस्थामा

कमला ह्यारिसको पक्षमा को को छ ?

कमला ह्यारिसको चुनावी अभियानलाई ठूला स्टारहरूको समर्थन मिलिरहेको छ। पूर्वराष्ट्रपति बाराक ओबामाले उनको अभियानलाई सहयोग गरिरहेका छन्, जसले अफ्रिकी(अमेरिकी र प्रगतिशील मतदाताहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ। त्यस्तै, आइकनिक संगीतकार ब्रुस स्प्रिङ्स्टिन, फिल्म निर्माता टायलर पेरी, र हलिउडका ठूला स्टारहरू जस्तै बेयन्से, टेलर स्विफ्ट, र एमिनेमजस्ता व्यक्तित्वले ह्यारिसको समर्थन गरेका छन्। धनाढ्य अर्बपति बीलगेट्सले पनि ह्यारिसलाई सहयोग गरेको बुझिएको छ । यो सेलिब्रिटी समर्थनले युवा मतदाताहरू र महिलाहरूमा ह्यारिसको पकडलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ। महिलाका अधिकार, विशेष गरी गर्भपतन अधिकार र स्वास्थ्य सेवामा सुधारका मुद्दाहरूमा ह्यारिसले आफ्नो अभियान केन्द्रित गरेकी छिन्, जसले उनलाई महिलाहरूको ठूलो समर्थन प्राप्त गराएको छ।

डोनाल्ड ट्रम्पको पक्षमा को को छ ?

डोनाल्ड ट्रम्पको आधार भने सँधैको जस्तो नै बलियो छ। उनका समर्थकहरू मुख्य रूपमा श्वेत, ग्रामीण, र श्रमिक वर्गका मतदाताहरू हुन्, जो राष्ट्रवाद, आव्रजन नियन्त्रण, र अर्थतन्त्रमा ट्रम्पको दृष्टिकोणमा दृढ छन्। ट्रम्पको समर्थनमा ठूला उद्योगपति, पारम्परिक कन्जरभेटिभ समूहहरू, र धेरै धार्मिक संघहरू छन्। यसबाहेक, ट्रम्पको समर्थनमा एक नयाँ आकस्मिक सहयोगी जो रोगन पनि उभिएका छन्। त्यसबाहेक इलन मस्कले खुलेरै ट्र्म्पलाई सहयोग गरिरहेका छन् ।

१० दिनमा के हुनेछ ?

चुनावको अन्तिम १० दिनमा दुवै पक्षले अत्यधिक आक्रामक चुनावी अभियान चलाउने निश्चित छ। ह्यारिस टेक्सासमा ठूला र्‍यालीहरू गर्ने तयारीमा छिन्, जहाँ उनको मुख्य मुद्दा गर्भपतन अधिकार हुनेछ। यस र्‍यालीमा बेयन्से र विली नेल्सन जस्ता संगीतकारहरूको उपस्थिति रहने बताइएको छ। यता ट्रम्पले मिशिगनमा ठूलो र्‍याली आयोजना गर्दै छन्, जहाँ उनी अल्पमतमा छन्। यो दौडमा साना मुद्दाहरूले ठूला प्रभाव पार्न सक्ने देखिन्छ। ह्यारिसले महिला अधिकार र स्वास्थ्य सेवामा केन्द्रित मुद्दाहरू उठाउँदै छिन् भने ट्रम्पले अर्थतन्त्र र आव्रासन जस्ता परम्परागत मुद्दाहरूलाई अघि सारिरहेका छन्। यी मुद्दाहरूले अन्तिम १० दिनमा मतदाताको विचारधारालाई निर्णायक रूपले प्रभावित गर्न सक्छ।

कसले जित्ला चुनाव ?

हालसम्मको सर्वेक्षण र विश्लेषणले स्पष्ट रूपमा भन्न नसक्ने अवस्था छ। इलेक्टोरल कलेजको संरचनाले पनि अन्तिम नतिजालाई अनिश्चित बनाएको छ, किनकि केही राज्यहरूमा भएको सानो परिवर्तनले परिणामलाई ठूलो फरक पार्न सक्छ। ह्यारिसले प्रगतिशील र महिला मतदाताहरूमा बलियो समर्थन पाएकी छिन् भने ट्रम्पले पारम्परिक कन्जरभेटिभ र ग्रामीण मतदाताहरूलाई अझै पनि आफ्नो पक्षमा राखेका छन्। दुवै उम्मेदवारका लागि निर्णायक कुरा भने स्विङ राज्यहरूमा कसले अन्तिम घडीमा आफ्नो पक्षमा मतदाता तान्न सक्छ भन्ने हुनेछ। अन्तिम १० दिनमा हुने परिवर्तनहरूले अमेरिकी राष्ट्रपतिको भविष्य निर्धारण गर्नेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय