काठमाडौं । कार्तिक कृष्ण त्रयोदशीदेखि लाग्ने यमपञ्चक सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले मंगलबार बिहान ११ बजेर १ मिनेटसम्म द्वादशी तिथि रहेको त्यसपछि त्रयोदशी लाग्ने भएकाले यमपञ्चक आजबाट सुरु हुने जनाएको छ ।
तिहारको पहिलो दिन काग तिहार मनाइन्छ । यो दिन बिहान कागको पूजा गर्ने र खानेकुरा खानदिने परम्परा छ । त्रयोदशीकै साँझ यमदीपदान गर्ने गरिन्छ । यी दुबै काम बुधबार नै गर्नुपर्ने समितिले जनाएको छ । त्रयोदशीकै दिन आयुर्वेदका प्रवर्तक धनवन्तरि जयन्ती पनि मनाइन्छ । धनवन्तरि जयन्ती बुधबार नै मनाउनुपर्ने समितिले जनाएको छ ।



यमपञ्चकका पाँच दिनमध्ये कार्तिक कृष्ण त्रयोदशीमा काग, चतुर्दशीमा कुकुर र औँसीका दिन गाईको पूजा गर्ने गरिन्छ । औंशीकै साँझ दीपावली गरी लक्ष्मीपूजा गर्ने परम्परा छ । कार्तिक शुक्ल प्रतिपदामा गोरु र गोवर्धनको पूजा गर्ने गरिन्छ । द्वितीयाका दिन दिदीभाइले दाजुभाइको पूजा गर्ने गर्दछन् ।
यमराज पाँच दिन बहिनी यमुनाका घर रही आतिथ्य ग्रहण गरेको लोकोक्ति छ । यसैगरी यमराजसँग सम्बन्धित भएकाले यो अवधिलाई यमपञ्चक भनिएको बताइन्छ ।




