काठमाडौं । तिहार सकिएलगत्तै मिथिलाञ्चल तथा तराई–मधेस क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठपर्वको तयारी सुरु भएको छ । यो पर्वको धार्मिक, सांस्कृतिक, र सामाजिक महत्वलाई हेर्दा यसले तराई–मधेसका जनताको पहिचान र परम्परालाई जीवन्त राख्ने महत्वपूर्ण भूमिका खेल्दै आएको छ । यो पर्व विशेषगरी सूर्य देवताको उपासना गर्नका लागि प्रसिद्ध छ । धार्मिक आस्था र परम्परासँगै गाउँ–समाजमा भाईचारा, सहकार्य, र सहिष्णुताको भावना बढ्छ, जसले समाजको एकता र सुदृढीकरणमा उल्लेखनीय योगदान पुर्याउने यो पर्वको छुट्टै महत्व छ । छठ पर्वको लागि अहिले जनकपुरधामका पोखरीलाई सजाउने कार्य जारी छ भने बजारमा पनि पूजा सामग्री किन्नेहरुको चहलपहल बढेको छ ।

छठपर्व चार दिनसम्म मनाइने विशेष चाड हो, जसमा नुहाउने, उपवास राख्ने, सूर्यदेवलाई अर्घ अर्पण गर्ने लगायतका धार्मिक कार्य सम्पन्न गरिन्छन् । छठपर्व विशेषगरी सूर्यदेव र छठी माताको पूजाअर्चनासँग जोडिएको हुन्छ । यस क्रममा पहिलो दिन व्रतालुले ‘नहाय(खाय’ गरी पर्वको प्रारम्भ गर्छन् । दोस्रो दिनलाई खुरना भनिन्छ, जसमा सादा भोजन गरिन्छ र त्यसपछि पूजाको तयारीका लागि फलफूल, ठकुवा, खजुरी, भुसुवा लगायतका प्रसाद तयार गरिन्छ । तृतीय दिन, जो छठपर्वको प्रमुख दिन मानिन्छ, व्रतालुले जलाशयको किनारमा उभिएर अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गर्छन् । चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएर ब्रत समापन गरिन्छ । यो अद्वितीय पूजामा महिलाहरूको सहभागिता अत्याधिक हुन्छ, जसलाई ‘व्रतालु’ भनिन्छ, यद्यपि पुरुषहरू पनि यो पूजामा सहभागी हुन्छन् ।

सूर्यदेवलाई प्रधान देवताको रूपमा लिइने यो पर्व स्वास्थ्य, समृद्धि र ऐश्वर्यका लागि महत्वपूर्ण मानिन्छ । छठमा व्रत गर्ने र सूर्यलाई अर्घ दिने परम्परा वैदिककालदेखि प्रचलनमा रहेको विश्वास गरिन्छ । छठपर्वमा मनाइने सामूहिक पूजाले समाजलाई जोड्ने काम गर्छ । विभिन्न जात, धर्म, र सम्प्रदायका मानिसहरू एकसाथ जमघट गरी यो पर्वमा सहभागी हुन्छन् । जलाशय, पोखरी तथा नदी किनारमा उभिएर सूर्य देवतालाई अर्घ अर्पण गर्ने परम्पराले समाजमा समर्पण, त्याग, र सहिष्णुताको महत्त्व दर्शाउँछ । छठमा मानिसहरू आफ्ना घरलाई सफा–सुग्घर मात्र गर्दैनन्, बरु घाट तथा जलाशय पनि सफा गर्छन्, जसले सार्वजनिक सरसफाइ र समाजप्रतिको उत्तरदायित्वलाई प्रकट गर्छ । सोही पूजाका लागि अहिले देशभरका नदी तलाउमा तयारी सुरु भएको छ ।

छठपर्वको अवसरमा सहर तथा गाउँका विभिन्न स्थानमा बजार तथा व्यापारिक गतिविधि बढेको देख्न सकिन्छ । प्रसादका लागि चाहिने सामग्री, विशेषगरी केरा, सख्खर, नरिवल, गहुँ, र भुसुवा जस्ता सामग्रीको माग अत्यधिक हुन्छ, जसले स्थानीय बजारमा आर्थिक चलखेल बढाउँछ । छठका लागि विभिन्न ठाउँमा जलाशय र घाट बनाइन्छन् जसले पर्यटन प्रवर्द्धनमा पनि सघाउ पुर्याउँछ । विशेषगरी मिथिला क्षेत्रको संस्कृति र जीवनशैलीलाई नजिकबाट बुझ्न चाहने पर्यटकहरूका लागि छठपर्व एक अद्वितीय अवसर हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय