प्रधानमन्त्री केपी शर्मा ओलीले अजरवैजानको बाकुमा भएको कोप–२९ मा वन मन्त्रालयबाट अनावश्यक व्यक्ति जानु गलत भएको बताउनुभएको छ ।राष्ट्रिय विकास समस्या सामाधन समितिको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो प्रवृत्ति हुन नहुनेमा मन्त्री र सचिवहरुलाई सचेत गराउनुभयो । प्रशासनलाई चुस्त, दुरुस्त, सक्षम र पारदर्शी बनाउनु सरकारको उच्च प्राथमिकतामा रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । यस्तै विकासलाई अवरोध उत्पन्न हुनेगरी ठूलो षड्यन्त्रका साथ सामाजिक अराजकता निम्त्याइएको प्रधानमन्त्री ओलीले आरोप लगाउनुभयो । उहाँले ओलीले व्यापार र उद्योगमा लगानी हुने वातावरण सृजना गर्न मन्त्री, प्रदेशका मुख्यमन्त्रीहरु र सचिवलाई निर्देशन पनि दिनुभयो ।
यस्तै प्रधानमन्त्री ओलीले एसईईको नतिजा सुधारका उपाय पहिल्याउन शिक्षा मन्त्रालयलाई निर्देशन दिनुभएको छ । त्यसका लागि अनलाइन कक्षासहित अन्य के के विकल्प हुनसक्छ त्यसका योजना ल्याउन शिक्षा मन्त्रालयलाई निर्देशन दिनुभएको हो । यस्तै विकास निर्माणको काममा देखिएका समस्याका उपायको खोजिगर्नुपर्ने उहाँको भनाइ छ । बैठकमा प्रधानमन्त्रीसहित राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मन्त्रीहरु, सात प्रदेशका मुख्यमन्त्री र सचिवहरुको उपस्थिति थियो ।






