काठमाडौं । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नगरभित्र रहेका विभिन्न धार्मिक स्थलमध्ये चन्दनभराटेश्वर मन्दिर आदिम कालदेखि महत्वपूर्ण रहेको बताउनु भएको छ ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर–६ महादेवगाउँस्थित चन्दनभराटेश्वर मन्दिर परिषरमा पूर्वाधार निर्माण कार्यको शिलान्यास समारोहमा प्रमुख गिरीले ६४ ज्योतिर्लिंग मध्ये ५०औं स्थानमा रहेको यो लिंगको प्रचारप्रशार हुन नसक्दा ओझेलमा पर्न पुगेको र मन्दिर परिसरको पुनःनिर्माणले प्रचारको पहिलो खुट्किलो भएको उल्लेख गर्नुभयो । उहाँले भारतीय सहयोगबाट पुनःनिर्माण हुन लागेको यो मन्दिर परिषर निगामानन्द गिरी महाराजको विशेष पहल र स्थानीय समुदाय, टोलछिमेक, जनप्रतिनिधि, बुद्धिजिविलगायतका व्यक्तिहरुको साथ र सहयोगबाट निर्माण कार्य सम्भव भएको भन्दै धन्यवाद दिनुभयो । उहाँले यहाँका स्थानीयको जात्रा, पर्व, सस्कृतिमा कुनै समस्या नआउने गरी निर्माण कार्य हुनमा पनि स्थानीयलाई विश्वास दिलाउनु भयो । मन्दिको पुनःनिर्माण भएसँगै नेपालका मात्र नभई भारतबाट पनि हिन्दु धर्मावलम्बीहरु यस परिसरमा आएर दर्शन गर्ने वातावरण तयार हुनेमा आफु विश्वस्थ रहेको बताउनु भयो ।

कार्यक्रममा भारतीय दुतावास काठमाडौंका नियोग उपप्रमुख प्रशन्न श्रीवास्तवले नेपालको सबैभन्दा पुरानो शिवशक्ति मन्दिर मध्ये चन्दनभराटेश्वर मन्दिर एक रहेको बताउनु भयो । उहाँले ६४ ज्वर्तिरलिंग मध्ये ५०औं स्थानमा रहेको एक ज्योतिर्लिंग चन्दनभराटेश्वर रहेको उल्लेख गर्नुभयो । उपप्रमुख श्रीवास्तवले मन्दिरको विकासले नेपालको मात्र नभई काठमाडौं र चन्द्रागिरिमा पर्यटकको संख्यामा बृद्धि हुने पनि बताउनु भयो । उहाँले नेपाल र भारतको सम्बन्ध विस्तार र धर्म, सस्कृतिलाई अगाडी बढाउन यो योजनाले सहयोगी भूमिका खेल्नेमा दाबी गर्नुभयो । श्रीवास्तवले नेपाल–भारत सहयोग अन्तरगत भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको यो योजनाले चन्द्रागिरिको विकासको लागि केही भएपनि टेवा पुग्नेमा विश्वास व्यक्त गर्नुभयो । श्रीवास्तवले नेपालमा पछिल्लो २० वर्षअघिदेखि भारत सरकारले नेपालसँग मिलेर ५६३ वटा योजनाको काम गरेको र जसमा ५ सय भन्दा बढी योजना पुरा भई नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको पनि बताउनु भयो ।

चन्द्रागिरि नगरपालिकाका उपप्रमुख बसन्ती श्रेष्ठले चन्द्रागिरि भित्र रहेको सम्पदा मध्ये चन्दनराटेश्वर महादेव मन्दिर पनि एक रहेको उल्लेख गर्नुभयो । उहाँले नगरभित्र ८ वटा महत्वपूर्ण सम्पदा मध्ये यही वडामा अर्को पनि विश्वमै नभएको तीर्थ स्थल नगरभित्र हुनु त्यसमा पनि यही वडामा हुनुले सम्पदाको हिसावमा ६ नम्बर वडा सम्पदाको हिसाबमा धनी भएको उल्लेख गर्नुभयो । भारत सरकारको सहयोगमा निर्माण हुन लागेको पूर्वाधारलाई नगरपालिकाले र स्थानीयले छिटो भन्दा छिटो काम सम्पन्न गर्ने गरी लाग्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले भारतीय दुतावास काठमाडौं, नेपाल सरकार संघीय मामिला तथा सामाजिक प्रशासन मन्त्रालय र चन्द्रागिरि नगरपालिकाबीच भएको त्रिपक्षीय सम्झौतापत्र अनुसार चन्दनभराटेश्वर मन्दिर परिसरमा विभिन्न पूर्वाधार निर्माण कार्य हुन लागेको बताउनु भयो । उहाँले कुल ६ करोड ५ लाख ७ हजार ४ सय ३७ रुपैयाँको लागतमा बन्ने विभिन्न संरचना अन्तर्गत भारत सरकारको तर्फबाट ४ करोड ३६ लाख ९० हजार ३ सय ३७ रुपैयाँ प्राप्त हुने र बाँकी ३० प्रतिशत चन्द्रागिरि नगरपालिकाले व्यहोर्ने जानकारी दिनुभयो । उहाँले २०८२ साल कार्तिक ११ गतेसम्म सम्पन्न गर्ने गरी डायना कन्स्ट्रक्सनले ठेक्का पाएको र सम्झौताअनुरुप चन्दन भराटेश्वर मन्दिर परिसरमा छात्रावास ब्लक, क्लब ब्लक, पठनपाठन ब्लक र सभाहल, भान्साघर ब्लक, सार्वजनिक शौचालय, छेकवार पर्खाललगायतका संरचना निर्माण जानकारी दिनुभयो ।

कार्यक्रममा संघीय मामिला तथा सामाजिक प्रशासन मन्त्रालयका प्रतिनिधि, राष्ट्रिय संग्राहलयका प्रतिनिधि, गुठि संस्थानका प्रतिनिधि, जनप्रतिनिधि, स्थानीय, बुद्धिजिवि, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, नेपाली सेना, नेपाल प्रहरीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय