काठमाडौं । विस्तृत शान्ति सम्झौता भएको १८ वर्ष पूरा भएको छ । २०६३ मंसिर ५ मा तत्कालीन सरकार र जनविद्रोही माओवादीबीच द्वन्द्वको विधिवत् अन्त्य गरेर शान्तिपूर्ण ढंगले अघि बढ्ने सहमति भएको थियो ।

लामो राजनीतिक रस्साकस्सीकाबीच सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोग २०७१ माघ २७ गते गठन ग¥यो । सरकार र द्वन्द्वरत पक्षबीच सम्झौता भएको साढे आठ वर्षपछि यी दुई आयोग बन्यो । आयोगले पीडितहरुको निवेदन लिने र क्षतिपूर्तिको सामान्य काम गरेपनि अरु प्रक्रिया अगाडि बढाउन सकेन । राजनीतिक दलबीच मतैक्य नहुँदा लामो समयसम्म शान्ति प्रक्रियाका बाँकी काम पूरा हुन सकेन ।

२०५२ फागुन १ गतेदेखि चलेको १० वर्षे जनद्वन्द्वलाई विराम लगाउन तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालबीच १२ बुँदे विस्तृत शान्ति सम्झौता भएको थियो ।

सम्झौतापछि देशमा राजनीतिक परिवर्तन भयो । हतियार व्यवस्थापन तथा तत्कालीन माओवादीका लडाकु व्यवस्थापनजस्ता महत्त्वपूर्ण काम पूरा भएपनि द्वन्द्वपीडितले भने अझै न्याय पाउन सकेनन् ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा तीन हजार २४३ उजुरीमध्ये २३७ उजुरी सत्यनिरूपण तथा मेलमिलाप आयोगसँग सम्बन्धित भएकाले त्यहाँ पठाएको छ । दुई हजार ४९६ उजुरीमा विस्तृत छानबिन भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय