नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रसहितका उपलब्धिको रक्षाका लागि गणतन्त्र पक्षधर एक ठाउँमा उभिनुपर्ने बताउनु भएको छ ।
माओवादी केन्द्र गोरखाले जिल्ला पार्टी कार्यालय पाटेचौरमा आयोजना गरेको ‘पार्टीका अगुवा नेता तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम’मा अध्यक्ष दाहालले जनताको बलिदानबाट प्राप्त गणतन्त्रको संरक्षण र रक्षाको खातिर एकै ठाउँमा उभिन आवश्यक रहेको बताउनु भएको हो ।



पछिल्लो समय गणतन्त्रलाई कमजोर पार्ने षड्यन्त्र भइरहेकाले त्यसतर्फ सचेत रही समग्र पार्टी पङ्तिको ध्यानाकर्षण गराउनु भयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक प्रतिनिधित्वसहितको समावेशी शासन व्यवस्थालाई कमजोर पार्ने÷उल्ट्याउने कोशिस भइरहेको उल्लेख गर्नुभयो ।
पहिलो संविधान सभाको निर्वाचनमार्फत जनताले दिएको विश्वास र भरोसाको माओवादीले रक्षा गर्न नसकेको स्वीकारर्दै दाहालले राजनीतिक इतिहासको सुक्ष्म ढंगबाट समीक्षा गरी आमजनताको विश्वास जित्नेगरी काम गर्न पार्टी पङ्तिको ध्यानाकर्षण गराउनु भयो ।



