काठमाडौं । सरकारले सामुदायिक विद्यालयमा दिँदै आएको दिवा खाजा कार्यक्रमलाई कक्षा ६ सम्म विस्तार गर्ने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी नयाँ बजेटमार्फत २०८२ बाट कक्षा ६ सम्म दिवा खाजा विस्तार गर्ने तयारी गरेको जनाएको हो ।

सरकारले शिक्षण सिकाइमा बालबालिकाको सहभागिता बृद्धि र सिकाइ सुधार गर्न दिवा खाजा कार्यक्रम ल्याएको हो । कम्तीमा ३० प्रतिशत पोषण परिपूरक हुने विविधतामूलक आहार उपलब्ध गराएर विद्यालयमा बालबालिकाको स्वास्थ्य र पोषण स्थिति सुधार गर्ने पनि यो कार्यक्रमको उद्देश्य रहेको छ ।

सामुदायिक विद्यालयमा दिवा खाजा मापदण्ड तथा कार्यक्रम सहजीकरण पुस्तिका, २०७६ अनुसार दिवा खाजा कार्यक्रमको सुरुवात १९६४ देखि सुरु भएको हो । सरकारले बर्सेनी दिवा खाजाको लागि करोडौँ बजेट विनियोजन गर्दै आएको छ ।

दुई वर्षदेखि दिवा खाजामा कटौती

​सरकारले बजेट अपुग भएको भन्दै दुई वर्षदेखि दिवा खाजामा कटौती गर्दै आएको छ । सरकारले आर्थिक वर्ष २०७९÷०८० को बजेटमा स्थानीय उत्पादनको उपयोगलाई प्राथमिकता दिई दिवा खाजा कार्यक्रमलाई क्रमशः कक्षा ८ सम्म विस्तार गर्ने लक्ष्यका साथ कक्षा ६ सम्म दिवा खाजा विस्तार गरेको थियो ।

तर, आव २०८०-०८१ मा बजेट अपुग भएको भन्दै कक्षा ५ सम्मलाई मात्रै पुग्ने गरी स्थानीय तहमा रकम पठायो। त्यहीअनुसार हाल कक्षा ५ सम्मलाई मात्रै दिवा खाजा दिइयो ।

सरकारले उक्त वर्ष सरकारी विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिन ८ अर्ब ४५ करोड रूपैयाँ विनियोजन गरेको थियो । तत्कालीन अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेट सार्वजनिक गर्दै यसबाट करिब ३२ लाख विद्यार्थी लाभान्वित हुने बताएका थिए ।

यस्तै सरकारले सरकारले चालु २०८१-०८२ मा पनि कक्षा ५ सम्म पुग्ने गरी दिवा खाजाको लागि बजेट छुट्यायो । दिवा खाजाको लागि चालु आवमा ८ अर्ब ३९ करोड विनियोजन गरेको छ ।

दिवा खाजा विस्तार गर्न संसदभित्रै माग

सरकारले दिवा खाजा कटौती गरेपछि विरोध समेत भएको छ । दिवा खाजा कटौती नहुनुपर्ने बरु थप कक्षामा विस्तार गर्दै जानुपर्ने माग संसदभित्रै उठिरहे पनि अहिलेसम्म दिवा खाजा विस्तार हुन सकेको छैन । दिवा खाजाका लागि विद्यार्थीहरूलाई दिइँदै आएको रकम पनि पटक पटक बढाउन माग उठ्दै आएको छ, तर बढ्न सकेको छैन । सरकारले प्रतिदिन प्रतिविद्यार्थीका लागि १५ रुपैयाँ तोकेको छ । कर्णालीका विद्यार्थीलाई भने २० रुपैयाँ तोकेको छ । यति रकमले दिवा खाजा व्यवस्थापन गर्न नसकिने विद्यालयका प्रधानाध्यापकहरूले बताउँदै आएका छन् ।

यस्तो छ दिवा खाजा मापदण्ड

सरकारले ‘जङ्क फुड’ (पत्रु खाना) लाई निषेध गर्दै स्थानीय उत्पादनमा आधारित पोषणयुक्त खाजा अनिवार्य गर्नुपर्ने नीति ल्याएको छ । स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवा खाजा प्रारूप २०८१ मा दिवा खाजाको व्यवस्थापन गर्दा हरेक खाजामा अन्न समूहबाट ५०–६० ग्राम, गेडागुडी समूहबाट ४०–५० ग्राम, फलफूल तथा हरियो सागसब्जीबाट ३०–५० ग्राम र पशुजन्य उत्पादनबाट २०–३० ग्राम गरी कुल १५० देखि २०० ग्रामसम्म हुनेगरी तोकिएको छ ।

चारै समूहको औसत प्रतिविद्यार्थी १७५ ग्राम हुने गरी तोकिएको छ । शिक्षा मन्त्रालयले दिवा खाजाको मेनुको हकमा विद्यालय दिवा खाजा व्यवस्थापन सहयोगी पुस्तिका २०७७ मा तोकिएको ‘मेनु’ सान्दर्भिक रहेको भन्दै उक्त अनुसार खाजा व्यवस्थापन गर्न सकिने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय