मुगु जिल्लाको उत्तरी भागमा रहेको सोरु गाउँपालिका–४ लिब्रु गाउँमा पहिलो पटक गाडी पुगेपछि गाउँलेहरूले वर्षौंदेखि पालेको सपना साकार भएको छ । परम्परागत नाचगान, देउडा र बाजागाजासहित स्थानीयहरूले यस ऐतिहासिक क्षणलाई उत्सवजस्तै मनाउँदा गाउँभरि खुशीयाली छाएको छ ।

मुगु जिल्लाको उत्तरी भागमा अवस्थित सोरुगाउँपालिका–४ लिब्रु गाउँ अहिले एक ऐतिहासिक र स्मरणीय क्षणको साक्षी बनेको छ । दशकौंको प्रतीक्षापछि गाउँमा पहिलो पटक गाडी पुग्दा स्थानीयवासीले खुशी र उत्साहसहित यो अवसरलाई उत्सवको रूपमा मनाएका छन् । गाउँभरि उल्लासको वातावरण छ । महिलाहरू परम्परागत भेषभूषामा सजिएर नाचगान गरिरहेका छन् भने पुरुषहरू देउडा गीतसहित बाजा बजाउँदै रमाइरहेका छन् । गाउँमा गाडी पुगेको दृश्यले लिब्रुका बासिन्दाको वर्षौँदेखिको सपना साकार भएको छ । सोरुकोट मसिनामेला–लिब्रु सडक खण्डको १३ किलोमिटर लामो ट्र्याक खुलेसँगै लिब्रुमा पहिलो पटक गाडी पुगेको हो । गाडी पुग्नुले गाउँको समग्र विकासमा ठूलो योगदान पुग्ने मुगुवासीले आशा व्यक्त गरेका छन् ।

गाडीको पहुँचसँगै यहाँका किसानहरूले उत्पादन हुने खाद्यान्न, फलफूल लगायतका कृषिजन्य वस्तुको बजारीकरण सजिलो हुनेमा विश्वास व्यक्त गरेका छन् । सडकले कृषिजन्य उपजलाई सहज रूपमा बजारसम्म पुर्याउन मद्दत गर्ने उनीहरूको अपेक्षा छ । सडक निर्माणका लागि सोरु गाउँपालिका, कर्णाली प्रदेश सरकार र स्थानीय पूर्वाधार विकास कार्यक्रममार्फत लगभग २ करोड रुपैयाँको लगानी गरिएको छ । गाउँपालिकाले ११ वडाका ५६ बस्तीलाई सडकमार्फत जोड्ने दीर्घकालीन योजना बनाएको छ । हालसम्म ५० बस्तीमा सडक निर्माण सम्पन्न भइसकेको र बाँकी बस्तीमा आगामी वर्षसम्म सडक पुर्याउने गाउँपालिकाले जनाएको छ ।

सोरुकोट मसिनामेला हुँदै लिब्रु जोड्ने यो सडकले मुगु मात्र नभई छिमेकी जिल्ला हुम्लाका नागरिकलाई पनि कनेक्टिभिटीमा सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ । यो सडकलाई कर्णाली करिडोरमा जोड्न बेलिब्रिज व्यवस्थापनको योजना पनि रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय