काठमाडौं – सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ। व्यापारीलाई धम्क्याएको आरोपमा हिरासतमा रहेका उनलाई शुक्रबार न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले रिहा गर्न आदेश दिएको हो।



बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चले उनलाई अदालतमा उपस्थित गराउन आदेश दिएपछि शुक्रबार सुनुवाइ भएको थियो। प्रसाईंले साइबर अपराध मुद्दामा धरौटीमा रिहा भए पनि प्रहरीको मनसायपूर्वक पुनः पक्राउ गरिएको भन्दै साधारण तारेखमा रिहा गर्न माग गरेका थिए।
प्रहरीले प्रसाईंलाई व्यापारी धम्क्याएको र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रम फैलाएको आरोपमा पक्राउ गरेको थियो। यसअघि साइबर अपराध मुद्दामा धरौटीमा रिहा गरिए पनि अर्को मुद्दामा अदालतको आदेशअनुसार पुनः पक्राउ गरिएको थियो। सर्वोच्चको निर्णयपछि प्रसाईं अब रिहा हुने भएका छन्।



