दक्षिण कोरियामा महाभियोग लगाइएका राष्ट्रपति युन सुक योललाई पक्राउ गर्ने प्रयास स्थगित भएको छ । अख्तियारको दुरुपयोगबारे अनुसन्धान गर्ने निकायका अनुसन्धानकर्ताहरूले निलम्बनमा परेका राष्ट्रपति योललाई नियन्त्रणमा लिने प्रयासलाई स्थगित गरेका हुन् । निरन्तरको गतिरोधका कारण उनलाई पक्राउ गर्न व्यवहारिक रूपमा असम्भव देखिएको उनीहरुको भनाइ छ ।
आज बिहानै एक नाटकीय घटनाक्रममा उनलाई पक्राउ गर्न अनुसन्धानकर्ताहरू योलको निवास पुगेका थिए । स्थानीय समयअनुसार बिहान ८ बजेर २० जना प्रहरी अधिकारीहरू त्यहाँ पुगेका थिए । लगत्तै उनको निवास अगाडि समर्थकको भीड जम्मा भएको थियो । तर पछि प्रहरीको संख्या बढाएर ८० पुर्याइएको बीबीसीले उल्लेख गरेको छ । योलको सुरक्षा टोलीले पनि उनलाई पक्राउ गर्नबाट रोकेको थियो । त्यसपछि पक्राउ गर्न पुगेका अधिकारीले ठाउँ छाडेपछि समर्थकहरूले आफूले जितेको भन्दै नारा लगाएका थिए ।



योलका वकिलहरूले उनीविरुद्ध जारी भएको पक्राउ पूर्जीलाई कानून विपरीत भनेका छन । गएको डिसेम्बर ३ मा छोटो अवधिका लागि लगाइएको मार्शल लको घटनापछि एक अदालतले योललाई पक्राउ पूर्जी जारी गरेको थियो । उनले आफ्नो शक्तिको दुरुपयोग गरेको र विद्रोहलाई उक्साएको आरोपमा अनुसन्धान गरिरहेका अधिकारीसामु उपस्थित हुन अस्वीकार गरेपछि पक्राउ पूर्जी जारी भएको हो । मार्शल ल लगाउने उनको असफल प्रयासपछि महाभियोग लागेसँगै उनी निलम्बनमा छन् ।



