प्रतिनिधिसभाको शुन्य तथा आकस्मिक समयमा सांसदहरूले समसामयिक विषयमा सरकार र सदनको ध्यानाकर्षण गराएका छन् ।आज बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरूले सडकदेखि स्वर्गद्वारी गुठी पीडित र कवाडी व्यवसायीले पाइरहेको दुखको बारेमा सरकारको ध्यानाकर्षण गराएका हुन् । नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले स्वर्गद्वारी गुठी पीडितको माग सम्बोधन गर्न माग गर्नुभयो । गुठी पीडितहरू काठमाडौंको माइतीघरमा प्रदर्शनमा हुँदा पनि उनीहरूको माग सम्बोधन गर्न सरकारले तदारुकता नदेखाएको उहाँको आरोप छ । किसानले रैथानीबापत बुझाउनुपर्ने रकम वडामार्फत बुझाउने व्यवस्था गर्नुपर्ने र जोतभोग गर्दै आएको जमिन मोहीको नाममा कायम गरियोस् भन्ने पीडितको माग रहेको भन्दै शीध्र सम्बोधन गर्न सरकारकको ध्यानाकर्षण गराउनुभयो ।



यस्तै माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले विपी राजमार्गको भासिएको सडक मर्मत गर्न सरकार उदासिन बनेको आरोप लगाउनुभयो ।
दसौं हजार सवारी गुड्ने विपी राजमार्ग बनाउन सरकारले चासो नदिएको उहाँको गुनासो छ । राजमार्गको उक्त खण्ड गत असोजको बाढीले बगाएको थियो। अहिले रोशी खोलामा पानी नभएका कारण अस्थायी रूपमा बनाइएको सडकबाट सवारी साधन आवतजावत गरिरहेका छन्। तर बर्खामा रोशी खोला बढेपछि अहिलेको अस्थायी सडकबाट सवारी आवतजावत सम्भव हुँदैन। प्राविधिक इस्टिमेटअनुसार उक्त सडक पूर्ण रूपमा बनाउन १० अर्ब लाग्ने भएपनि ५५ करोड खर्च गरे बर्खाको समयमा सवारी चल्न मिल्ने गरी सडक बनाउन सकिने इस्टिमेट रहेको बताउनुभयो ।
बैठकमा नेपाली काँग्रेसकी सांसद नागिना यादवले काठमाडौं महानगरपालिकाले कवाड व्यवसायीमाथि धरपकड गरिरहेको उल्लेख गर्दै कवाड व्यवसायीको जिउधनको सुरक्षा गर्न माग गर्नुभयो । यसबाहेक सांसदहरूले डिजिटल भुक्तानी गर्दा अतिरिक्त शुल्क तिर्न उपभोक्ता बाध्य भएको गुनासो सम्बोधन गर्न समेत माग गरेका छन् ।



