ओडिसा, भारत – भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूमाथि कुटपिट गर्दै जबरजस्ती होस्टेलबाट निकालिएको छ।उक्त विश्वविद्यालयमा तेस्रो वर्षमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालले आत्महत्या गरेपछि नेपाली विद्यार्थीहरूले उचित छानबिनको माग गरेका थिए। तर, विश्वविद्यालय प्रशासनले उनीहरूलाई जबरजस्ती होस्टेल खाली गर्न आदेश दिएको र केही विद्यार्थीमाथि कुटपिटसमेत गरेको आरोप लागेको छ।
नेपाली विद्यार्थी राजन गुप्ता ले एएनआईसँगको कुराकानीमा भने, “साथीको मृत्युलाई लिएर विरोध गरिरहेका थियौं, तर एक्कासी होस्टेलबाट जबरजस्ती निकालियो। खाना खान पाएका छैनौं, अब हामी कहाँ जाने ?” प्रशासनले स्थिति तनावपूर्ण भएको भन्दै नेपालका सबै विद्यार्थीलाई निलम्बन गरेको र चाँडै घर फर्काउने निर्णय गरेको छ। विश्वविद्यालयले भनेको छ, “परिस्थिति हेरेर हामीले नेपाली विद्यार्थीलाई फर्काएका छौं। अहिले अवस्था शान्त छ।”



नेपाल सरकार र भारतस्थित नेपाली दूतावासले विद्यार्थीहरूको सुरक्षाका लागि आवश्यक पहल गर्नुपर्ने आवाज उठिरहेको छ। प्रभावित विद्यार्थीहरूले उचित न्याय र सुरक्षाको माग गर्दै नेपाल सरकारलाई तत्काल हस्तक्षेप गर्न आग्रह गरेका छन्।



