भारतको ओडिसाको कलिगां इन्सिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी केआईआईटीमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणले आज संसदमा प्रवेश पाएको छ । आज बसेको प्रतिनिधि सभाको बैठकको आकस्मिक समयमा बोल्ने सांसदहरूले घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेका हुन् । बैठकमा बोल्दै एमाले सांसद ठाकुर गैरेले घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्नुभयो । विद्यालयका प्रशासकहरूले नेपाली विद्यार्थी र नेपालीहरूप्रति गरिएको व्यवहार र शब्दप्रति आपत्ति जनाउनुभयो । यस्तै माओवादी सांसद माधव सापकोटाले पनि विद्यार्थीलाई त्यहाँ अपमानजनक व्यवहार गरेकोप्रति आपत्ति जनाउनुभयो । घटनाको अनुसन्धान गर्नको लागि उच्चस्तरीय राजनीतिक र कूटनीतिक संवाद गर्नको लागि सरकारसँग सांसदले माग गरे ।

यस्तै, रास्वपाका सांसद मनिष झाले संसद र सिंहदरबारमा दुई तिहाइको दम्भ देखिए पनि जनताले दुई तिहाइको अनुभूति गर्न नपाएको टिप्पणी गर्नुभयो । उहाँले कूटनीतिक कमजोरीमाथि टिप्पणी गर्दै कलेजको चौकिदारबाट नेपाली नागरिक पिटिएको गुनासो गर्नुभयो । सदनमा बोल्ने अधिकांश सांसदहरूले ओडिसा घटनाबारे सरकारको ध्यानाकर्षण गराएका थिए । यसैबीच भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी केआईआईटी विश्वविद्यालयमा नेपाली विद्यार्थीको सुरक्षा व्यवस्था गर्नका लागि नेपाल प्रहरीको टोली पुगेको छ ।

परराष्ट्रमन्त्री आरजु राणा देउवाले मंगलबार बिहान नेपाल प्रहरीका दुईजना वरिष्ठ अधिकारी विद्यालय पुगेको जानकारी दिनुभएको हो । कलेजको होस्टेलमा बुटवलकी प्रकृति लम्साल शंकास्पद रुपमा मृत भेटिएकी थिइन् । सो घटनापछि विकसित परिस्थितिलाई सरकारले निरन्तर फलोअप गरिरहेको परराष्ट्रमन्त्री राणाले बताउनुभएको छ । सामाजिक सञ्जालमा ‘नेपाली विद्यार्थीको अवस्था बुझ्न र त्यहाँ रहेका नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षाको वातावरण मिलाउने सन्दर्भमा नेपाली राजदूतावास नयाँ दिल्लीबाट नेपाल प्रहरीका दुईजना वरिष्ठ अधिकारी आज बिहानै विश्वविद्यालय पुग्नुभएको मन्त्री राणाले लेख्नुभएको छ। परराष्ट्रमन्त्री राणाले घटनाको आवश्यक अनुसन्धानका लागि भारतीय सुरक्षाकर्मीसँग समन्वय गर्न तथा नेपाली विद्यार्थीलाई आवश्यक सहयोग र होस्टलमा सुरक्षित रूपमा रहनका लागि विश्वविद्यालय प्रशासनसँग समन्वय गर्न निर्देशन दिएको समेत जानकारी दिनुभयो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय