सरकारले अनुचित लेनदेन मिटरब्याज सम्बन्धी जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अनुचित लेनदेन मिटरब्याज अपराध नियन्त्रणका लागि सुझाव सहितको प्रतिवेदन पेश गर्न बाबुराम रेग्मीको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको हो । आयोगका सदस्यमा भरतबहादुर बोहरा र बद्रीप्रसाद भट्टराई छन् ।



यस्तै सरकारले जापान सरकारको सहयोगमा निर्माणाधीन नागढुङ्गा सुरुङ्गमार्ग निर्माण आयोजनाका लागि प्रस्तावित सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी सम्झौतालाई अन्तिम रूप दिन नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिने निर्णय गरेको छ । विश्व बैंकको वित्तीय सहयोगमा कार्यान्वयनमा रहेको रणनीतिक सडक सञ्जाल तथा व्यापारिक मार्ग सुधार आयोजनामा प्रस्तावित २ सय मिलियन अमेरिकी डलर बराबरको थप सहुलियतपूर्ण ऋण रकम स्वीकार गर्नेसम्बन्धी वित्तीय सम्झौता गर्न वार्ता टोली बनाएको छ । यस्तै आयोजना दस्तावेजलाई अन्तिम रूप दिन नेपाल सरकारको तर्फबाट वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरी उल्लेखित दस्तावेजहरूलाई अन्तिम रूप दिन अख्तियारी प्रदान गर्ने निर्णय पनि गरेको छ ।



