आउँदो शनिबारदेखि काठमाडौंमा हुन लागेको तेस्रो संस्करणको नेपाल सुपर लिग एनएसएलका लागि आयोजकसँगै सहभागी टोलीहरु तयारी अवस्थामा छन् । आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले अहिले प्रतियोगिताको ट्रफी टुर गराइरहेको छ भने सहभागी फ्रेन्चाईजी खेलाडी अनुबन्धको प्रक्रियापछि प्रशिक्षणमा छ । प्रतियोगिताको सम्मुखमा आउँदा सहभागी सातवटै टोली कस्तो बन्यो हेरौं ।



एनएसएलको तेस्रो संस्करणका लागि आयोजक एनएसइएमले मिनी अक्सन र ड्राफ्ट मार्फत सहभागी टोली बनाएको हो । सबै सातवटै टोलीले १(१ मार्की खेलाडी घोषणा गर्दा क्याटेगोरी ए र बी का लागि अक्सन र क्याटेगोरी सी का खेलाडीको ड्राफ्ट भयो । कति खेलाडी रिटेन पनि भए । अक्सनमा क्याटेगोरी एबाट ३ बी बाट ६ खेलाडी अनुबन्ध गर्दा ड्राफ्ट मार्फत सी क्याटेगोरीबाट एक टोलीले ४(४ खेलाडी छनोट गरे । क्याटेगोरी डी बाट ट्यालेन्ट हन्टबाट १(१ खेलाडी समावेश हुँदा प्रत्येक टोलीले ६ जनासम्म विदेशी खेलाडी राख्न पाउने छन् । जसमा एसियाबाट १ खेलाडी अनिवार्य छ । विदेशी खेलाडी अनुबन्धको क्रम जारी रहेपनि टोलीहरु अहिले उपलब्ध खेलाडीलाई प्रशिक्षणमा राख्दै तयारीमा लागिरहेका छन् ।
ललितपुर सिटी एफसी
डिफेण्डर अनन्त तामाङ मार्की रहेको साविक विजेता ललितपुर सिटी एफसी अक्सनमा सफल देखियो । अक्सनमा मिडफिल्डर र डिफेन्डरमा बढि केन्द्रित भएको ललितपुरले विदेशी खेलाडीका रुपमा दक्षिण एसियाली फुटबलका सफल स्ट्राइकर भुटानका चेन्चो ग्याल्सेनलाई अनुबन्ध गरेको छ । अन्य स्तरीय विदेशी खेलाडी अनुबन्ध गरिरहेको ललितपुर कागजी रुपमा बलियो देखिन्छ ।
काठमाडौं रेजर्स
पहिलो संस्करणको विजेता काठमाडौं रेजर्समा मिडफिल्डर रोहन कार्की मार्की खेलाडीका रुपमा छन् । पछिल्लो संस्करणका ३ खेलाडी रिटेन गरेको काठमाडौंले अक्सनबाट राष्ट्रिय टोलीका दिनेश हेन्जन र जिलेस्पी जंग कार्कीलाई गोलाप्रथाबाट पायो । प्रशिक्षण टोलीसमेत परिवर्तन गर्दै काठमाडौं यसपटक उपाधिको बलियो दाबेदारका रुपमा आएको छ ।
धनगढी एफसी
अघिल्ला दुवै संस्करणको उपविजेता धनगढीले रिटेन गर्दै कृतिशरत्न छुन्जुलाई मार्की खेलाडीका रुपमा अघि सारेको छ । दुवै पटक फाइनल पुगेर निराश भएको धनगढीले यसपटक प्रशिक्षण टोली सहित सन्तुलित टोली बनाएको छ । टोलीले अग्रपंतिमा विदेशीलाई प्राथमिकतामा राख्दा नाइजेरियन स्ट्राइकर ओलावाले आफिजलाई निरन्तरता दिएको छ ।
एफसी चितवन
राष्ट्रिय टोलीका भरपर्दा खेलाडी अन्जन विष्टलाई मार्कीका रुपमा भित्र्याएको चितवन यस पटक राम्रो छाप छोड्ने लक्ष्यमा छ । पछिल्लो संस्करणका मार्की खेलाडी विशाल श्रेष्ठसहित ३ जनालाई रिटेन गरेको चितवनमा मोफसलका प्रतियोगिता एक साथ खेलिरहेका खेलाडी समावेश हुँदा सन्तुलन देखिन्छ ।
पोखरा थण्डर्स
गत संस्करणमा तेस्रो स्थान भएको पोखराले यस पटक युवा फरवार्ड समिर तामाङलाई मार्की बनाउँदा अर्का युवा स्टार आयुष घलानलाई कप्तानी जिम्मेवारी दिएको छ । अधिकांश युवा खेलाडी अनुबन्ध गरेको पोखरामा पहिलो संस्करणका मार्की नवयुगको उपस्थितिले सन्तुलित बनाउने छ । अक्सनमा नबिके पनि राम थापाको स्थानमा पोखराले नवयुगलाई अनुबन्ध गरेको हो ।
बुटवल लुम्बिनी एफसी
राष्ट्रिय टोलीका मिडफिल्डर मनिष डाँगीलाई मार्की खेलाडीका रुपमा राखेको बुटवल लुम्बिनीले भुटानी क्लब पारो एफसीका सफल प्रशिक्षक पुष्पलाल शर्मालाई प्रशिक्षणको जिम्मेवारी दिएको छ । एरिक विष्टलाई रिटेन गरेको उसले विसलिस्टबाट राष्ट्रिय टोलीमा दोस्रो रोजाईका गोलकिपर दिप कार्कीलाई अनुबन्ध गरेको छ ।
झापा एफसी
युवा मिडफिल्डर लाकेन लिम्बुलाई मार्कीका रुपमा सारेको झापाले घरेलु फुटबलका सफल प्रशिक्षक प्रवेश कटुवाललाई टोलीको जिम्मेवारी दिएको छ । अक्सनमा खासै सफल नभएको झापा एनआरएनए कोटा र विदेशी खेलाडीमा निर्भर देखिन्छ ।



