राजावादी समूहको प्रदर्शन राजधानी काठमाडौंमा उग्र बन्दै गएको छ। प्रदर्शनकारीहरूले सिनामंगलस्थित नागरिक उड्डयन कार्यालयमा तोडफोड गरेका छन् भने तीनकुने क्षेत्रमा तोडफोड र आगजनी गरेका छन्। प्रदर्शनकारीहरूको आक्रोशलाई नियन्त्रण गर्न प्रहरीले हवाइ फायर गरेको थियो, जसले प्रदर्शनलाई अझ उग्र बनाएको छ। झडपका क्रममा दुई प्रदर्शनकारी गोली लागेर घाइते भएका छन्। एकजनालाई तीनकुने र अर्को जनालाई कोटेश्वरमा गोली लागेको जानकारी प्राप्त भएको छ। घाइतेहरूको उपचार सिभिल अस्पताल मीनभवनमा भइरहेको छ र उनीहरूको स्थिति खतरामुक्त रहेको बताइएको छ।



सिनामंगल, कोटेश्वर र बानेश्वरमा प्रदर्शनका कारण स्थिति तनावपूर्ण बनेपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ। प्रदर्शनकारीहरूले अन्य स्थानमा पनि तोडफोड र आगजनी गरेका छन्। एकीकृत समाजवादीको कार्यालयमा आगजनी भएको छ भने अन्य घरहरूमा तोडफोड गरिएको छ। राजावादी समूहको प्रदर्शन हिंसात्मक बनेपछि प्रशासनले सुरक्षा व्यवस्था कडा गरेको छ र कर्फ्यु आदेश लागू गरेको छ।त्यसैगरि जिल्ला प्रशासन कार्यालय काठमाडौले काठमाडौंका ३ ठाउँमा आज राति १० बजेसम्म कर्फ्यू जारी गरेको छ ।




