काठमाडौं, काठमाडौं उपत्यका आज पनि विश्वका सर्वाधिक प्रदूषित शहरहरूको सूचीमा परेको छ। हाल काठमाडौंको हावाको एक्यूआई ९एयर क्वालिटी इन्डेक्स० २१६ पुगेको छ, जुन अत्यन्त अस्वस्थकर मानिन्छ। यस स्तरको वायु प्रदूषणले मानिसको स्वास्थ्यमा गम्भीर असर पुर्याउन सक्छ। काठमाडौंको विभिन्न स्थानहरूमा प्रदूषणको स्तर उच्च देखिएको छ। शंखपार्क, रत्नपार्क, भक्तपुर, भैंसीपाटी, खुमलटार लगायतका क्षेत्रहरूमा वायुको गुणस्तर अस्वस्थकर भएको जानकारी प्राप्त भएको छ। यसका साथै, दाङको देउखुरी, इलाम, धनगढी र रारा क्षेत्रका वायु पनि अस्वस्थकर छन्।



चिकित्सकहरूले भनेका छन् कि हालको वायु प्रदूषण मानव स्वास्थ्यको लागि धेरै हानिकारक छ। यसका कारण लामो समयदेखि पानी नपर्नु, आकाशमा थुप्रिएको धुलो, र उपत्यका आसपासका जंगलहरूमा लागेको डढेलोको धुँवा प्रमुख कारण बन्न पुगेका छन्। विज्ञहरूले भनेका छन् कि काठमाडौंमा वायु प्रदूषणको स्तर सामान्यभन्दा धेरै उच्च छ, जसको असर सास फेर्न र श्वासप्रश्वाससम्बन्धी समस्याहरूमा पर्न सक्छ।
स्वास्थ्य मन्त्रालयको चेतावनी
स्वास्थ्य मन्त्रालयले वायु प्रदूषणको उच्च स्तरलाई ध्यानमा राख्दै जनतालाई सजगता अपनाउन आग्रह गरेको छ। मन्त्रालयले विशेष गरेर साँझ र बिहानको समयमा सकेसम्म घर बाहिर ननिस्कन र यदि निस्किनु आवश्यक हो भने अनिवार्य मास्कको प्रयोग गर्न अनुरोध गरेको छ। मन्त्रालयका अनुसार, वायुको गुणस्तर यति खराब भएको अवस्थामा बाहिर ननिस्कनु र मास्कको प्रयोग गर्नु स्वास्थ्यको दृष्टिकोणले अत्यन्तै महत्त्वपूर्ण छ। यसले श्वासप्रश्वाससम्बन्धी समस्याहरूबाट जोगाउन मद्दत पुर्याउनेछ।
धेरै लामो समयसम्म वायु प्रदूषणको असर
काठमाडौंमा वायु प्रदूषणको समस्या लामो समयदेखि छ। खासगरी, वर्षा नपर्ने कारण आकाशमा थुप्रिएको धुलो र जंगलका डढेलोका धुँवाले वायुको गुणस्तरलाई अत्यन्तै नकारात्मक बनाएको छ। यसको प्रभावले शहरको वायुमण्डललाई अत्यधिक प्रदूषित बनाएको छ, जसले जनताको दैनिक जीवनलाई प्रभावित पारिरहेको छ।



