काठमाडौं । नागढुंगा–नौविसे सडकखण्डअन्तर्गत नागढुंगा–पिपलमोड सडकमा आउँदो सोमबार देखि १० दिनसम्म आंशिकरुपमा बन्द हुने भएको छ । सडक मर्मतका लागि बैशाख २२ गतेदेखि ३१ गतेसम्म राति ११ बजेदेखि बिहान ३ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइन लागिएको नागढुंगा मुग्लिङ सडक योजना (पूर्वी खण्ड) ले जनाएको छ ।
काठमाडौंबाट नौबिसेतर्फ जाने हलुका तथा हेवी सवारी साधनलाई नागढुंगा चेकपोष्टमा रोकिने छ भने नौविसेबाट काठमाडौंतर्फ आउने सवारी साधनलाई खत्रीपौवा पुलमा रोकिनेछ ।



नागढुंगा मुग्लिङ सडक योजना (पूर्वी खण्ड) ले यातायातमा समस्या नहोस् भन्नका लागि साना तथा मझौला सवारी साधनका लागि वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरेको छ । सीतापाइला–भीमढुंगा–रामकोट–धार्के सडकमार्ग, सामाखुसी–टोखा–गुर्जेभञ्ज्याङ–छहरे–त्रिशूली (बेत्रावती)–गल्छी सडकमार्ग वैकल्पिक मार्गको रुपमा व्यवस्था गरिएको छ ।
रोकिएका सवारी साधनहरुलाई बिहान ३ बजेपछि मात्रै गन्तव्यमा जान दिइने छ ।



