काठमाडौं । चन्द्रागिरि नगरपालिकाको न्यायिक समितिका संयोजक तथा उपप्रमुख बसन्ती श्रेष्ठले महिलालाई कानूनी साक्षरता सम्बन्धी जानकारीका लागि १५ वटै वडाका महिलालाई न्यायिक समितिले तालिम संचालन गरिरहेको बताउनु भयो । उहाँले महिलामा कानूनी ज्ञान भएमा कसैले धम्क्याए, हेप्न र डराउन नसक्ने उल्लेख गर्नुभयो ।

संयोजक श्रेष्ठले महिलामा कानूनको विषयमा जानकारी भएमा समाजमा विकृति र विसंगतीका घटना पनि कम हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले महिलाहरुले आफ्नो हकअधिकार पाउनको लागि फुटेर नभई जुटेर एक साथ अघि बढ्न पनि सुझाव दिनुभयो । उहाँले अधिकांश महिला दिदीबहिनीहरु अहिले स्थानीय निकायमा भएको तुच्छ राजनीतिकै कारण नगर र वडाले दिएको सेवाबाट बञ्चित हुन पुगेको उल्लेख गर्नुभयो । उहाँले जनप्रतिनिधि कुनै पार्टी विशेषको नभएकोले वडाका जनप्रतिनिधिले आफ्नो नजिकको मान्छेलाई मात्र बोलाएर सेवा दिनु गलत भएको भन्दै यस्तो कार्य नगर्न पनि सुझाव दिनुभयो । श्रेष्ठले नगरपालिका र वडाले गर्ने कुनै पनि योजना होस् या कार्यक्रम जनताले तिरेकै राजश्वबाट नै संचालन हुने भएकाले सबैको उत्तिकै अधिकार रहेको उल्लेख गर्नुभयो ।

न्यायिक समितिले संचालन गरेको समुदायमा रहेका महिलाको लागि कानूनी तथा उत्प्रेरणा तालिम कार्यक्रम बैशाख १५ गतेदेखि २५ गतेसम्म संचालन हुँदैछ । पहिलो दिन १५ गते १, ५ र १२ वडा, १७ गते २, ३ र ४ वडा, २१ गते ६, ७ र ८ का महिलालाई संयुक्त रुपमा तालिम संचालन गरिएको छ । २३ गते ९, १० र ११ का महिलालाई सतुंगलस्थित सामुदायिक भवन र २५ गते अन्तिम दिन १३, १४ र १५ वडाका महिलालाई चन्द्रागिरि नगरपालिका वडा नम्बर १४ को वडा कार्यालयमा तालिम दिइने छ ।

प्रशिक्षकमा अधिवक्ता रामबृक्ष मण्डल र मनोपरामर्शकर्ता सृजना ज्ञवाली रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय