काठमाडौं । चन्द्रागिरि नगरपालिकाले प्रहरी वृत्त थानकोटको जिम्मेवारी सम्हाल्नुभएकी प्रहरी नायव उपरीक्षक (डीएसपी) एलिजा गिरीलाई स्वागत गरेको छ । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र उप्रमुख बसन्ती श्रेष्ठले नगरपालिकामा गिरीलाई सम्मान गर्नुभएको हो ।




नगरप्रमुख घनश्याम गिरीले डीएसपी एलिजा गिरीलाई मायाको चिनो दिंदै नगरको शान्तिसुरक्षाका लागि प्रहरीले यसअघि खेलेको भूमिकाको बारेमा जानकारी गराउँदै अझ पहिलेको भन्दा पनि प्रभावकारी ढंगले नगरमा शान्ति सुरक्षा कायम हुनेमा आफु ढुक्क भएको बताउनु भयो । उहाँले शान्ति सुरक्षाको लागि सुरक्षाकर्मीसँग स्थानीय सरकारले खेल्नु पर्ने भूमिका र सहकार्य सदैव रहने उल्लेख गर्नुभयो ।

प्रहरी नायव उपरीक्षक (डीएसपी) एलिजा गिरीले नगर क्षेत्र भित्र शान्ति सुरक्षा प्रदान गर्नु नै आफ्नो प्रमुख दायित्व र कर्तब्य भएको बताउनु भयो । उहाँले प्रहरी मेरो साथी भन्ने नारा जनताले महसुस हुने गरी आफुले काम गर्ने प्रतिबद्धता समेत व्यक्ति गर्नुभयो ।
डिएसपी गिरी यसअघि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग यूएन शाखा नक्सालमा कार्यरत हुनुहुन्थ्यो । उहाँ गत बुधबार प्रहरी वृत्त थानकोटको प्रमुखको रुपमा जिम्मेवारी सम्हाल्नु भएको छ । गिरी अघि डीएसपी सूर्यप्रकाश सुवेदीले थानकोट वृत्तको जिम्मेवारी सम्हाल्नु भएको थियो ।

यस्तै प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्य प्रहरी प्रभाग बलम्बुबाट सरुवा भएसँगै नगरपालिकाका प्रमुख गिरी र उपप्रमुख श्रेष्ठले उहाँलाई विदाई गर्नुभयो । आचार्य सोमबार इलाका प्रहरी कार्यालय बनेपामा हाजिर हुँदैछन् । उहाँले करिब १ वर्ष प्रहरी प्रभाग बलम्बुको कमाण्ड सम्हाल्नु भएको थियो ।



