काठमाडौं । प्रतिनिधिसभाको बैठकले आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । आइतबार प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्नुभएको हो । वैशाख १० गते सदनमा प्रस्तुत भएको नीति तथा कार्यक्रम २२ देखि २८ गतेसम्म निरन्तर छलफल भएको थियो ।
छलफलको अन्तिम दिन आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदले उठाउनुभएको प्रश्नको जवाफ दिनुभएको थियो ।



आजको बैठकमा नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो । नीति तथा कार्यक्रममाथि एकल र संयुक्त गरी कुल ३७ वटा संशोधन प्रस्ताव दर्ता भएका थिए । ती सबै अस्वीकार भएका थिए ।



