काठमाडौं । निजी विद्यालयहरूले मनलाग्नी चर्को शुल्क अशुल्ने गरेको गुनासो बढ्न थालेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन थालेको छ । विभागले अनुगमन गरेका निजी विद्यालयका कागजात जफत गर्दै तीन दिनभित्रमा सम्पूर्ण कागजातसहित विभागमा उपस्थित हुन पनि निर्देशन दिइरहेको छ ।

वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक एवं सूचना अधिकारी जगदीश अर्यालले निजी विद्यालयले कानून विपरित बढी शुल्क लिने गरेको गुनासो आएपछि त्यस्ता विद्यालयको अनुगमन गरिएको बताउनु भयो । अनुगमनको क्रममा शुल्कको कानुनी आधार, विद्यालयको सेवासुविधा, र कागजपत्र हेरी विभागमा उपस्थित हुन निर्देशन दिएको जानकारी दिनुभयो । उहाँले भक्तपुर नगरपालिका वडा–१ सल्लाघारीस्थित भक्तपुर मोडर्न इङ्ग्लिस स्कूल, ललितपुर महानगरपालिका वडा–२३ स्थित जेम्स स्कूल, ललितपुर महानगरपालिका वडा–१५ खुमलटारस्थित प्रिमियर इन्टरनेशनल स्कूल, बूढानीलकण्ठ नगरपालिका हात्तिगौडास्थित युरो स्कूल र टोखास्थित मिल्सवेरी इन्टरनेशनल स्कूल गरी अहिलेसम्म पाँच वटाको अनुगमन गरिएको उल्लेख गर्नुभयो । निजी विद्यालयहरूले कानुन विपरित विभिन्न शीर्षकमा शुल्क लिँदा अभिभावक भने हैरानी खेप्न बाध्य छन् ।

सरकारले संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ जारी गरेको छ। यही निर्देशिकालाई टेकेर स्थानीय तहले शुल्क मापदण्ड निर्धारण गर्नुपर्छ। त्यसपछिमात्रै विद्यालयले शुल्क लिन पाउँछन् । निर्देशिकाको बुँदा (१४.१) मा शुल्क शीर्षक र मापदण्ड विवरण तोकिएको छ । अर्यालले थुप्रै स्कुलहरूले बढी शुल्क लिने गरेको गुनासो आएकोले अनुगमन अझै जारी रहेको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय