काठमाडौं । नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ । थाइल्यान्डको बैककस्थित टेर्डथाई क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपाल हङकङसँग डकबर्थ लुइस (डिएलएस) का आधारमा ७ विकेटले पराजित भएको हो ।
जितका लागि नेपालले दिएको ३० रनको लक्ष्य हङकङले तीन बल बाँकी छँदा तीन विकेट गुमाउँदै पूरा गरेको हो । वर्षाका कारण टसमा ढिलाइ भएपछि खेल पाँच ओभरमा झारिएको थियो । हङकङका लागि शान्जिन शहजादले अविजित १५ र मारिको हिलले ११ रन बनाए । बलिङमा नेपालकी कविता कुँवरले दुई विकेट लिएकी थिइन् । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा तीन विकेटको क्षतिमा २९ रन बनाएको थियो । नेपालका लागि सम्झना खड्काले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।



यसअघि नेपाल र हङकङको खेल वर्षाका कारण रद्द भएको थियो । नेपाल दोस्रो खेलमा बहराइनसँग नौ विकेटले पराजित भएको थियो । हङकङले बहराइनसँग पनि अंक बाँडेको थियो ।
जितसँगै तीन खेलबाट चार अंक बनाएको हङकङ समूह ‘सी’ को शीर्ष स्थानमा छ । समान खेलबाट तीन अंक बनाएको नेपाल दोस्रो स्थानमा छ ।



