काठमाडौं । दिवा खाजा कार्यक्रमको नाममा विद्यार्थीको हाजिरबेगर स्थानीय तहहरूले २७ करोडभन्दा बढी निकासा गरेर आफुखुशी चलाएको भेटिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०–०८१ को ६२औँ वार्षिक प्रतिवेदनमा २०८१ मा नियमविपरीत १२४ स्थानीय तहले विद्यार्थी हाजिर प्रमाणित अभिलेख बेगर दिवा खाजामा २७ करोड ९९ लाख २९ हजार खर्च लेखेको उल्लेख गरिएको छ ।
दिवा खाजा कार्यक्रम कार्यान्वयन पुस्तिका, २०८०–०८१ को बुँदा नम्बर २, ८, ७ मा विद्यार्थीको हाजिरीको आधारमा दिवा खाजाको रकम शोधभर्ना दिनेसम्बन्धी व्यवस्था छ । तर, उक्त व्यवस्था अनुसार रकम निकासा भने भएन ।



यसैगरी १५१ स्थानीय तहले ९ करोड ८ लाख ७५ हजारको स्यानिटरी प्याड खरिद गरी खर्च लेखेकोमा उक्त प्याड लक्षित वर्गको प्रयोगका लागि विद्यालयहरूमा पठाउनुपर्नेमा स्थानीय तहको भण्डारमा मौज्दात रहेको देखिएको प्रतिवेदनमा उल्लेख छ ।
२०६ स्थानीय तहले शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट भएभन्दा निःशुल्क पाठ्यपुस्तकमा ३ करोड ६२ लाख ६५ हजार र ११४ स्थानीय तहले छात्रवृत्तिमा १ करोड ६९ लाख १ हजारसमेत ५ करोड ३१ लाख ६६ हजार बढी निकासा दिएको पनि पाइएको छ ।
त्यसैगरी स्थानीय तहहरूले मनलाग्दी बढी शिक्षक तलब निकासा गरेको पाइएको छ । प्रतिवेदनअनुसार शिक्षा नियमावली, २०५९ को नियम १२६ (२) मा प्रत्येक स्थानीय तहले सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकहरूको तलबी प्रतिवेदन राष्ट्रिय किताबखाना (शिक्षक)बाट पारित गराई तलब भुक्तानी गर्नुपर्ने व्यवस्था छ ।
तर स्थानीय तहले शिक्षकहरूको तलबी प्रतिवेदन पारित नगरेको, बढी ग्रेड भुक्तानी गरेको, दोहोरो निकासा दिएको, दरबन्दीभन्दा बढी तलब निकासा गरेको देखिएको छ । यो वर्ष १४३ स्थानीय तहले शिक्षकहरूको तलब भत्तामा ३ करोड २४ लाख ९९ हजार बढी निकासा गरेका प्रतिवेदनमा उल्लेख छ ।
गत वर्ष २२० स्थानीय तहले शिक्षकको दरबन्दी मिलान नगरी स्वीकृत दरबन्दीभित्र नपरेका एवं गत विगतदेखि नै विद्यालयको आन्तरिक स्रोतबाट तलब भत्ता बेहोरेका शिक्षकको तलब भत्ताको लागि स्थानीय तहको स्रोतबाट २ अर्ब ५ करोड १ लाख ६४ हजार निकासा गरेको पाइएको छ ।



