काठमाडौं । वर्षासँगै आएको हावाहुरीले रुख ढल्दा ३ जनाको मृत्यु भएको छ । नवलपरासीमा २ र कैलालीमा १ जना गरी ३ जनाको मृत्यु भएको हो ।
पश्चिम नवलपरासीको सुनवल–७ मा ३० वर्षीया मिरा बयम्बु र सोही वडाका ४० वर्षीय दुर्गाबहादुर पुनको मृत्यु भएको छ । आज दिउँसो हावाहुरीसहित आएको पानीबाट जोगिन प्रतिक्षालयमा ओत लाग्दा त्यसक्रममा प्रतिक्षालयमाथि नै रुख ढलेपछि उहाँहरुको मृत्यु भएको हो । रुखले च्यापेर अन्य तीन जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि देवदह मेडिकल कलेज लगिएको छ ।



यस्तै कैलालीमा हावाहुरीले रुख ढल्दा लागेर एक जनाको मृत्यु भएको छ । आज बिहानको हावाहुरीले रुख ढलेपछि राष्ट्रिय कलेज सुखडका पूर्वक्याम्पस प्रमुख कर्ण भण्डारीको मृत्यु भएको हो ।



