काठमाडौं । चन्द्रागिरि नगरपालिका र जिल्ला प्रशासन कार्यालय काठमाडौंको संयुक्त आयोजनामा सार्वजनिक सेवा प्रवाहमा सहजीकरण, समन्वय एवम् सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

चन्द्रागिरि नगरपालिकाको कार्यपालिका सभाहलमा भएको कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका वडा अध्यक्षहरुले जनताको काम गर्ने क्रममा कानूनी अड्चनकै कारण आफुहरुले समस्या व्यहोर्नु पर्ने बाध्यात्मक अवस्था सिर्जना भएको भन्दै जिल्ला प्रशासन कार्यालयका प्रमुख समक्ष गुनासो पोखेका थिए । अध्यक्षहरुले स्थानीय प्रशासन कार्यालयमा नगरबासीले चुस्तदुरुस्त सेवा प्राप्त गर्न नसकेको भन्दै प्रमुखलाई सेवा प्रवाह सम्बन्धमा सहजीकरण, समन्वय गरिदिन आग्रह समेत गरेका थिए ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले चन्द्रागिरि नगरपालिका काठमाडौं भित्रने प्रमुख नाका भएको र अहिले नगर हुँदै विभिन्न शाखाबाटोहरु निर्माण भई आवतजावत गर्नका लागि प्रयोग भइरहेकोले पछिल्लो समय चन्द्रागिरि लागूऔषध तथा अन्य क्रियाकलापको हव बन्छ कि भन्ने चिन्ता व्यक्त गर्नुभयो । उहाँले यस्ता गतिविधि रोक्नका लागि जिल्ला प्रशासन कार्यालयका प्रमुख, जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय काठमाडौंका प्रमुखलगायतसँग आग्रह समेत गर्नुभयो । साथै उहाँले चन्द्रागिरिमा निर्माण भइरहेको सुरुङ मार्ग अबको केही महिनामै संचालन हुने र उक्त क्षेत्रमा दुर्घटना न्यूकरण र ट्राफिक जाम कम गर्नको लागि ठाउँठाउँमा ट्राफिक लाईट र जेब्रा क्रसिङ निर्माण गर्न जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी परिसरका प्रमुखलाई सुझाव समेत दिनुभएको थियो । प्रमुख गिरीले कलंकी देखि नागढुंगासम्मको सडक ५० मिटर नेपाल सरकारले कायम गरेपनि पावरकै भरमा शून्य प्वाइट तलमाथी गरिएकोले काठमाडौंको त्रिपुरेश्वर देखि नागढुंगासम्मको सडक सोही अनुसार हुनुपर्ने समेत अडान राख्नु भयो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सार्वजनिक सुनुवाई कार्यक्रममा वडा अध्यक्षहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको थियो । उहाँले पंजिकरण सम्बन्धी उठेका समस्या न्यूनिकरणलगायत पासपोर्ट, नागरिकता, राष्ट्रिय परिचयपत्रलगायतका अन्य सेवाहरु पहिलेको जस्तो नभई छिटो र छरितो र सहजरुपमा हुने गरेको जानकारी गराउनु भयो । उहाँले काठमाडौंमै पहिलो पटक चन्द्रागिरि नगरपालिका डिजिलट अनलाईन प्रविधिमा गएको भन्दै प्रशंसा समेत गर्नुभयो । प्रमुख तिवारीले नागढुंगा सुरुङ मार्गका पिडीतहरुले छिट्टै नै मुआब्जा पाउन र आफुहरु यो विषयमा गम्भीर भएर लागि परेको बताउनु भयो । उहाँले चन्द्रागिरि नगरपालिका वडा नम्बर ५ र ७ को वडा कार्यालयको जग्गा प्राप्तीको लागि प्रशासनमा आएर सम्पर्क राख्न पनि सम्बन्धित वडा अध्यक्षलाई आग्रह गर्नुभयो । प्रमुख तिवारीले नेपालमा वर्षायाम सुरु भइसकेकोले स्थानीय निकाय र सुरक्षाकर्मीहरुलाई अलट रहन पनि निर्देशन गर्नुभयो ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिकाकी उपप्रमुख बसन्ती श्रेष्ठ,  प्रवक्ता कृष्णप्रसाद खड्गी, जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख, जिल्ला प्रशासन कार्यालय काठमाडौंका स.प्र.जि.अ., सशस्त्र प्रहरी बल नम्बर २० गण सिनामंगलका स.प्र.उ शैलेश श्रेष्ठ, सशस्त्र प्रहरी बल नम्बर १८ निल गणका रोशन घिमिरे, चन्द्रागिरि नगरपालिकाका कर्मचारी, कार्यपालिकाका सदस्य, विभिन्न शाखाका शाखा प्रमुखलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय