काठमाडौँ । जिल्ला अदालतले सञ्चारकर्मी दिलभूषण पाठकविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ। पाठकले आफ्नो युट्युब च्यानलमार्फत प्रसारण गरेको एक भिडिओ सामग्रीलाई लिएर उनीविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको हो।



प्रहरीको साइबर ब्युरोमा परेको उजुरीका आधारमा अनुसन्धानका लागि पाठकलाई पक्राउ गर्न अनुमति मागिएको थियो। सोही अनुसार अदालतबाट पक्राउ पूर्जी लिइएको ब्यूरो स्रोतले जनाएको छ। पाठकले आफ्नो युट्युब कार्यक्रम ‘टफ टक’को ‘टफ एक्स्प्लेनर’ शृङ्खलामा काङ्ग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाको व्यवसायिक संलग्नताबारे एक रिपोर्ट प्रसारण गरेका थिए। उक्त रिपोर्टमा देउवा पुत्रले व्यापारी शाहिल अग्रवाल र दीपक भट्टसँग मिलेर नक्सालस्थित हिल्टन होटल खरिद गरेको दाबी गरिएको थियो।
साथै, उनका बुबा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा सेनेटरी प्याड र डायपर आयातमा कर छुट हुनेगरी नीतिगत हेरफेर गरिएको आरोप पनि लगाइएको थियो। प्रहरी स्रोतका अनुसार उक्त सामग्री ‘कपोलकल्पित, भ्रामक र चरित्रहत्या गर्ने उद्देश्यले’ प्रसारण गरिएको आरोप लगाउँदै साइबर अपराध अन्तर्गत उजुरी परेको थियो। ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले भने तत्काल यस वियषमा प्रतिक्रिया नदिने बताए।
सोही उजुरीमाथि अनुसन्धान प्रक्रिया अघि बढाउन अदालतबाट पक्राउ पुर्जी लिइएको प्रहरीको भनाइ छ। हाल पत्रकार पाठकको फोन भने अफ छ। यही विषयलाई लिएर सामाजिक सञ्जालमा सरकारको आलोचना भइरहेको छ।



