काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर १५ बालश्रम मुक्त वडा घोषणा भएको छ । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नगरमा अब ३ वटा वडामात्र बालश्रम मुक्त वडा घोषणा हुन बाँकी रहेको बताउनु भयो ।
नगरप्रमुख गिरीले नगरको १५ वटै वडा बालमैत्री सुशासन व्यवस्थापन भएपछि चन्द्रागिरि नगरपालिका बालश्रम मुक्त नगरको घोषणा गर्ने जानकारी गराउनु भयो ।



कार्यक्रममा उपप्रमुख बसन्ती श्रेष्ठले बालश्रम मुक्त वडा घोषणा गर्दैगर्दा वडा र नगरपालिकाको थप जिम्मेवारी थपिएको बताउनु भयो । उहाँले बालश्रम मुक्त वडा घोषणा गर्नुअघि नगर र वडाको संयुक्त अनुगमनमा यस वडामा बालश्रमिक नभेटिएपछि बालश्रम मुक्त वडा घोषणा गरिएको दाबी गर्नुभयो ।
यस्तै बालश्रम मुक्त वडा घोषणा सभाका विशिष्ट अतिथी तथा चन्द्रागिरि नगरपालिकाका नगर प्रवक्ता कृष्णप्रसाद खड्गीले चन्द्रागिरि नगरपालिकाले बालबालिका लक्षित विभिन्न कार्यक्रम गर्दै आएपनि यथोचित निगरानीको अभावले कार्यान्वयनमा चुनौति देखिदै आएको बताउनु भयो । उहाँले वडा बालश्रम मुक्त भएकोले बालबालिकालाई काममा नराख्न र नगराउन वडाबासीलाई चेतावनी दिनुभयो ।
यसैगरी बालश्रम मुक्त वडा घोषणा सभाका सभापति, सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर १५ का वडा अध्यक्ष घनश्याम लुइँटेलले वडालाई बालश्रम मुक्त घोषणा गर्नका लागि लगातार दुई वर्षको अथक प्रयासपछि सफल भएको बताउनु भयो । उहाँले बालश्रम मुक्त वडा घोषणा गर्नको लागि वडामा रहेका संघसंस्था, उद्योगी व्यवसायी, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, विद्यालय, संचारकर्मी, वडाबासीलगायतको सहयोगबाट सम्भव भएको उल्लेख गर्नुभयो । अध्यक्ष लुइँटेलले बालश्रम मुक्त वडा घोषणा भएसँगै वडा भित्र बालबालिकालाई काममा नलगाउन, नराख्न भन्दै बालश्रम भेटिए कानून बमोजिम कारवाही गरिने पनि चेतावनी दिनुभयो । उहाँले अब बाँकी वडा पनि छिट्टै घोषणाको तयारीमा रहेको भन्दै छिट्टै चन्द्रागिरि नगरपालिकालाई बालश्रम मुक्त नगर घोषणा गरिने समेत जानकारी दिनुभयो ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर १५ को आयोजना वडा स्तरीय बाल अधिकार समितिको समन्वय र वर्ड भिजनको सहयोगमा बालश्रम मुक्त वडा घोषणा गरिएको थियो ।
यसअघि ढुंगेअड्डास्थित खड्कुले पुलबाट नैकाप हुँदै बाजागाजा र विभिन्न नाराका पम्प्लेटसहित र्यालीको आयोजना गरिएको थियो ।



