काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर २ बाणभञ्ज्याङ ज्येष्ठ नागरिक समाज दिवा सेवा केन्द्रले नेपाल राष्ट्रिय खेलकुद परिषद् त्रिपुरेश्वर, काठमाडौंबाट नेपाल फुलकन्न्ट्याक्ट कराते महासंघको मुख्य प्रशिक्षक कुमार श्रेष्ठलाई सम्मान गरेको छ ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर २ को सहयोग र बाणभञ्ज्याङ ज्येष्ठ नागरिक समाज दिवा सेवा केन्द्रले आयोजना गरेको कार्यक्रममा श्रेष्ठलाई बधाई तथा शुभकामना दिंदै प्रशंसा पत्र प्रदान गरिएको हो । वडाका अधिकांश ज्येष्ठ नागरिकहरुले श्रेष्ठले वडाको गौरव उच्च राख्न सफल भएको भन्दै अझ प्रगतिको बाटोमा लम्कन आर्शिवाद प्रदान गर्नुभएको थियो ।



कार्यक्रममा श्रेष्ठले २०४६ सालमा आफु कराते खेलमा आवद्ध भई निरन्तरको लगाव र मेहेनतबाट आज यो स्थानमा पुग्न सफल भएको बताउनु भयो । उहाँले आफु खेल क्षेत्रमा लाग्दा परिवारले झगडा र दादागिरी गर्ला भनेर कराते नखेल्न बा, आमाले दबाब दिए पनि आफु लुकिछिपी खेलेको स्मरण गर्नुभयो । उहाँले आफ्नो वर्षौदेखिको मेहेनत र सपना केही भएपनि पुरा भएको भन्दै खेलबाट आफु र देशलाई विश्वसामु चिनाउन युवापुस्तालाई आग्रह गर्नुभयो ।
यसैगरी चन्द्रागिरि नगरपालिका वडा नम्बर २ का कार्यबहाक वडाअध्यक्ष लबराम सुवेदीले कुमार श्रेष्ठको कारण वडाको शिर उचो हुन पुगेको बताउनु भयो । उहाँले नेपाल फुलकन्न्ट्याक्ट कराते महासंघको मुख्य प्रशिक्षक जस्तो गरिमामय पदमा पुगेर श्रेष्ठले नगरपालिकाको साथसाथै देशकै आइडल भएको दाबी गर्नुभयो । उहाँले वडाले खेल क्षेत्रमा बजेट विनियोजन गर्दै आएको बताउँदै आगामी आर्थिक वर्ष पहिलेको भन्दा थप बजेट खेल क्षेत्रलाई छुट्याएर खेलाडीको हौसला प्रदान गर्ने बताउनु भयो ।
कार्यक्रममा वडाका ज्येष्ठ नागरिक, समाजसेवी, वडाका कर्मचारी, पार्टीका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।



