काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा ८ मा छाडा तथा घरपालुवा कुकुरको निःशुल्क सामुदायिक कुकुर बन्ध्याकरण र रेबिज रोगविरुद्ध खोप शिविर सम्पन्न भएको छ । चन्द्रागिरि नगरपालिकाकाको पशु सेवा शाखाले साउने पानी चोकमा विहान ७ बजेदेखि बेलुका ६ बजेसम्म कुकुरको बन्ध्याकरण गरेको हो ।




चन्द्रागिरि ८ का वडा सदस्य रत्नलाल श्रेष्ठले बिहान, बेलुकाको समयमा मानिस आवातजावत गर्दा कुकुरले टोक्ने तथा बिहान विद्यालय तथा कलेजमा जाने विद्यार्थीलाई टोक्ने, लखेट्ने समस्या बढ्न थालेपछि कुकुर नियन्त्रण अभियान वडाले थालेको बताउनु भयो । उहाँले वडा भित्र रहेका घरपालुवा तथा छाडा कुकुर गरि ७३ वटा कुकुरको बन्ध्याकरण गरिएको जानकारी दिनुभयो । उहाँले बजार तथा ग्रामीण क्षेत्रमा भएका कुकुरहरुले मानिस तथा अन्य घरपालुवा जनावर पशुपन्छिहरुमा आक्रमण गर्ने, झम्टिने तथा अराजक स्वभाव देखाउने गर्दा जनमानसमा त्रास सिर्जना भएको र रेबिज समेत सर्न सक्ने भएकाले कुकुरहरुको बन्ध्याकरण गरिएको उल्लेख गर्नुभयो ।

चन्द्रागिरि नगरपालिकाको मुख्य समस्या भनेकै अहिले छाडा कुकुर भएकोले त्यसको न्यूनिकरणको लागि वडाले स्थायी रुपमा बन्ध्याकरण तथा रेबिज खोप संचालन गरेको श्रेष्ठ बताउनु हुन्छ । उहाँले कुकुरलाई समाउने, बेहोस गरेर बन्ध्याकरण गर्ने, पछि खाना खुवाउने, रेखदेख र औषधि उपचार समेत गरिएको जानकारी दिनुभयो ।

वडा भित्रका मुख्य सडक तथा शाखा सडकहरुमा छाडा कुकुरहरुको आतंक बढेको तथा कुकुरले पशु चौपायालाई हमाला गर्ने घटना धेरै भएकाले बन्ध्याकरणपछि यस्ता समस्याको समाधान हुने वडा सदस्य श्रेष्ठको दाबी रहेको छ ।



