काठमाडौं । हेटौँडा उपमहानगरपालिका वडा नं.–१ का वडाध्यक्ष तथा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेमाथि कार्यकक्षमै सांघातिक आक्रमण भएको छ । भुमि सम्बन्धि समस्या देखाउँदै कालो पोशाक लगाएर मोटरसाइकलमा आएका ४ जनाको समूहले वडाध्यक्ष न्यौपानेमाथि कार्यकक्षमै आक्रमण गरेका हुन् ।
आक्रमणबाट वडाअध्यक्ष न्यौपानेको टाउकोमा चोट लागेको छ । आफूमाथि आक्रमण गरेपछि ठूलो स्वरमा कराएपछि आक्रमणकारी भागेको वडाअध्यक्ष न्यौपानेले बताएका छन् । आक्रमणकारीहरुले आफ्नो दुई थान मोबाइल समेत लगेको अध्यक्ष न्यौपानेले बताए । घटनापछि हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँसहित अन्य वडाका अध्यक्षहरु घटनास्थल पुगेका थिए । नगर प्रमुख लामाले घटनाको विशेष ढंगबाट अनुसन्धान गर्न मकवानपुर प्रहरीलाई आग्रह गर्नुभएको छ । नगर प्रमुख लामाले घटनाको निष्पक्ष अनुसन्धान गरी आक्रमणकारीलाई तत्काल कारवाहीको दायरामा ल्याउन पनि प्रहरी प्रशासनलाई आग्रह गर्नुभयो । केहि दिन अघिबाट हेटौंडा–१ स्वर्गलोक हेटौंडा अस्पताल पछाडि रहेको सार्वजनिक जग्गामा घर टहरा निर्माण गर्न खोज्नेलाई हटाउँदै उपमहानगर र वडाले संरक्षणको कदम अघि बढाएको थियो । सोही विषय उठाउँदै आफूमाथि आक्रमण भएको वडाध्यक्ष न्यौपानेले बताए ।






