सुन्दा एकादेशको कथा झैं लाग्ने तर, प्रकृतिसँग पानी याचना गर्ने गैया बेह्रनामा सजना गीतमा ‘लोकदोहोरी’ गाउने प्रचलन छ । एक गाउँका मान्छेले अर्को गाउँको गोरु या मान्छे बन्धक बनाउने चलन छ ।

 

प्रवेश

हाम्रो जीवनका लागि पानी नभई नहुने वस्तु हो । पानी बिना कोही कतै पनि बाँच्न सक्दैनन् । माछाका लागि त भन्नै पर्दैन, पानीमै जन्मन्छन्, पानीमै बाँच्छन् र पानीमै मर्छन् । अझ चराचर जगत्को सारा जीवन नै पानीमा निर्भर रहेका छन् । पानी अर्थात् जल पञ्चमहाभूत (पञ्चतत्व) मध्येको एक तत्व भएकाले पानी बिनाको जीवन कल्पना गर्न पनि कठीन हुनेगर्दछ । हुन पनि पृथ्वीको कूल क्षेत्रफल ५१,००,७२,००० वर्ग किमी मध्ये ३६,११,३२,००० वर्ग किमी (७०.८ प्रतिशत) क्षेत्रफल पानीले नै ढाकेको छ भने १४,८९,४०,००० वर्ग किमी भूभाग मात्र स्थल क्षेत्र रहेको छ । पृथ्वीको दुई तिहाईभन्दा बढी क्षेत्रफल त पानीले नै ढाकेको छ । भूमिले ढाकेका भूभागमा तालतलैया, नदीनाला पानीका स्रोत हुन् । यसका अतिरिक्त वर्षा पनि एक महत्वपूर्ण पानीको स्रोत हो । तापनि भूभागमा कहिलेकाँंही पानीको हाहाकार हुने गर्दछ । प्रकृतिको नियति नै यस्तै छ । कतै अनाबृष्टि (पानीको हाहाकार र खडेरी) त कतै अतिवृष्टि (चाहिनेभन्दा बढीको वर्षा) हुने गरेको छ । चेतनशील प्राणीमध्येकै उत्कृष्ट र उच्चकोटीमा मान्छे रहेको मानिन्छ । जब मान्छेहरु जङ्गली अवस्थाबाट गुजारा चलाउँदै समुदायमा रहन थालेपछि समाजको निर्माण भयो । मानवको सामाजिक जीवनशैली र रहनसहनमा पनि परिवर्तन हुँदै जान थाल्यो । एकपछि अर्को वस्तु आवश्यकता महसुस पनि हुन थालेपछि सहजै परिपूर्ति र जीवन गुजारा चलाउन खेतीपाती गर्नथाले ।

पानीको उपादेयता

खेतीपाती गर्न पानीको मूख्य भूमिका रहने गर्दछ । पानीबिना खेती गर्न सकिँदैन । नदीनाला, तालतलैया, पानीका स्रोहरुका साथै वर्षाका पानीले पानीको अभाव परिपूर्ति हुन् गर्छ । तर मौसम अनुकूल पानीको उचित व्यवस्था भएन भने बालीनाली सप्रिँदैन र फसल राम्रो नहुने कुरा सर्वविदितै छ । हाम्रो जीवन धान्ने अपरिहार्य वस्तु परिपूर्ति गर्न खेतीपातीबाट मात्र सम्भव हुने गर्दछ । यसैले विश्वभर नै कृषि उत्पादनलाई प्राथमिकता दिँदै खाद्य भण्डारण गर्न जोडतोडले लागिपरेका छन् । आवश्यक वस्तुको जोहो गर्न कृषि उत्पादन बढाउन प्रकृति प्रदत्त पानी निर्वाध उपभोग गर्नु अपरिहार्य छ । नेपाल जलस्रोतमा धनी देश हो । अझ कृषि प्रधान देश भनेर विद्यार्थी जीवनमा नघोकेको पनि होइन । खासै भन्नुपर्दा, जहाँ खेती योग्य जमिन प्रशस्त छन्, त्यहाँ खेतीपाती गर्न आकाशे पानीको भर नपरी सुखै छैन । कतिपय ठाउँमा पुरातन शैलीबाट खोलामा छेकबार लगाएर सामान्य कुलोको भरमा खेती गर्नुपरेको यथार्थ कसैबाट लुकाउन सकिँदैन । यो पनि एउटा उपाय हो, तर ती छेकबार पनि अलि ठूलो झरी हुनासाथ बाढीले बगाएर लान्छ । अनि किसानहरु हैरानीमा पर्छन् । पानी पर्दा पनि नहुने, नपर्दा पनि नहुने । प्रकृतिको नियति नै यस्तै रहेछ ।

मौसमी खेतीपाती सप्रेको अवस्थामा कहिले काँही अतिवर्षा हुँदा बालीनाली बगाउने र डुबानमा पर्छ । अनि किसानको सम्पूर्ण मेहेनत, श्रम र फसल स्वाहा हुन्छ । त्यसैले किसानहरुलाई आकाशतिर हेर्दै दैवको भरपर्नु बाहेक अर्को कुनै उपाय हुँदैन । हुन त, मानवीय स्वभाव पनि अचम्मको छ । आफू अनुकूलको समय र परिस्थितिमा मौसमले साथदिनु पर्ने । मौसम अनुसारको समय र परिस्थितिमा आफू समाहित हुने प्रयास गर्नु त कता हो कता ? आफू अनुकूलको परिस्थिति खोज्नथाल्छन् सधैँ ।

अल्पकालीन, दीर्घकालीन र आधुनिक प्रविधिको सिँचाई व्यवस्था नभएको पनि होइन तर पर्याप्त मात्रामा सिँचित हुनसकेको पाईंदैन । उचित सिँचाईको व्यवस्था नहुनाले कतिपय खेती योग्य जमिन त्यसै बाँझोपनमा परिवर्तन हुँदै गइरहेका छन् । समयमा पानी नपरेपछि कहिले काँही खडेरीको सामना गर्नुपर्छ । खडेरीले बालीनाली ध्वस्त हुने मात्र हैन जीवन धान्न नै दुरुह हुनपुग्नु यथार्थ हो । अल्पवृष्टि र अतिवृष्टि घातक पनि हुनपुग्छ कहिलेकहीँ । मौसमी खेतीपाती सप्रेको अवस्थामा कहिले काँही अतिवर्षा हुँदा बालीनाली बगाउने र डुबानमा पर्छ । अनि किसानको सम्पूर्ण मेहेनत, श्रम र फसल स्वाहा हुन्छ । त्यसैले किसानहरुलाई आकाशतिर हेर्दै दैवको भरपर्नु बाहेक अर्को कुनै उपाय हुँदैन । हुन त, मानवीय स्वभाव पनि अचम्मको छ । आफू अनुकूलको समय र परिस्थितिमा मौसमले साथदिनु पर्ने । मौसम अनुसारको समय र परिस्थितिमा आफू समाहित हुने प्रयास गर्नु त कता हो कता ? आफू अनुकूलको परिस्थिति खोज्न थाल्छन् सधैँ । तर ‘प्रकृतिको नियम कसैले तोड्न सक्दैन’ भन्ने हेक्का राख्दैनन् । हाम्रो देशको अधिकाँश भूभाग हिमाल र पहाडले ओगटेका छन् । तापनि धान खेती तथा अन्य बालीका लागि योग्य उर्वर भूमिको कमी छैन । तराई मधेशमा सुन फल्ने भूभाग यथेष्ट मात्रामा नभएको होइन तापनि अधिकाँश ठाउँमा सिँचाई सुविधा नहुनाले खेतीकिसानी आकाशे पानी र मौसमी कुलोको भरपर्दै खेतीपाती गर्न बाध्य छन् । अझ बालीनाली लगाउने समयमा कहिलकाँही पानी नपर्दा खडेरी लाग्न थाल्छ । अनि त किसानीहरु खडेरीको मारमा पर्नुबाहेक अरु केही रहँदैन । मुख्यतः धानखेती लगाउने समय बैशाखदेखि असारको आधाआधिसम्ममा पनि पानी परेन भने धानको बिउ राख्नै कठिन हुन्छ भने बिउ बूढो पनि हुँदै जान्छ । त्यस्तो बुढो वा छिप्प्एिको बिउबाट राम्रो फसल नदिने कृषकहरुको अनुभव छ । अझ भरखर उम्रेको बिउ ब्याडमै डढुवा लागेर सुक्दै जान थाल्छ । ती सुकेका बीउ रोप्ने त कुरै भएन । रोपिसकेका धानका गाँज पनि चिस्यानको अभावले सुक्दै जान थाल्छ । लामो समयसम्म पानीको अभावमा बालीनाली स्वाहा हुन थालेपछि खेतीकिसानहरु हैरानीमा पर्ने गरेको प्रशस्त पाइन्छ । लामो समय पानी नपरेर खडेरी पर्न थाल्यो भने मुख्यःत धान खेती गर्ने किसानहरु हैरानी र चिन्तित हुन थाल्छन् । खडेरीबाट मुक्ति पाउन खेतीकिसानहरु पानी माग्ने आ–आफ्नै परम्परागत प्रथा र प्रचलनका पुरातनशैली अनुशरण गर्न थाल्छन् । पानीको याचना गर्दै भगवान भरोसामा देवीदेवताको पूजा अर्चना र धार्मिक अनुष्ठान गर्ने प्रचलन रहेको छ । सांस्कृतिक तथा वैदिक उपाय अपनाएर पानी माग्ने संस्कृति अहिलेसम्म पनि जीवितै आइरहेको उदाहरण प्रशस्त पाइन्छन् ।

पानी माग्ने संस्कृति

पानी माग्ने प्रचलन कहिलेदेखि शुरुवात भएको भन्ने एकीनकासाथ कसैले पनि भन्न सकेको छैन । सायद् मानवजातिले खेतीकिसानी गर्न थालेदेखि नै सुरुवात भएको हो कि भनेर अनुमान लगाउन सकिन्छ । कालान्तरमा यो प्रथा र प्रचलन संस्कृतिको रुपमा विकसित हुँदै एकपछि अर्को पुस्तामा हस्तारन्तरण भएको पाइन्छ ।
रामायण ग्रन्थका अनुसार – त्रेतायुगमा विदेहका राजा राजर्षि जनकले अनावृष्टि भइ खडेरी परेको बेलामा टन्टालापुर घामको पर्वाह नगरी धाँज परेको खेतमा हलो जोतेका थिए । सुनको हलो राजाले तान्ने र उनकी पत्नीले अनौ समातेर खेत जोतेकाले पानी परेको थियो । स्मरण रहोस् यसरी खेत जोतिरहँदा एकठाउँमा फाली धसेर हलो अड्किएकाले ती ठाउँ खोतलेर हेर्दा एउटी बालिका भेटाएको र उनै बालिका सीता माता कहलिएको कुरा धार्मिक ग्रन्थहरुमा उल्लेख पाइन्छ । पानी माग्ने प्रथा र प्रचलन ठाउँ विशेष फरक फरक हुने गरेको पाइन्छ । कतै महादेवको पूजा गर्छन् त कतै इन्द्र भगवान्को पूजा अर्चना गर्छन् । यस्तै कतै नागदेवताको पूजा गर्छन् त कतै अन्य देवीदेवताको पूजा आराधना गरेर पानी माग्ने संस्कृति जीवन्त राख्दै आएको पाइन्छ । यस्तै अधिकाँश ठाउँका खेतीकिसानहरु भ्यागुताको पूजा गर्ने गर्छन् । अझ कतै कतै भ्यागुताको भाले र पोथी खोजेर बिवाह गरिदिने प्रचलन पनि रहेको पाइन्छ । भ्यागुता पानीसँग सम्बन्धित जीवको रुपमा मानिन्छ । लामो समय पानी नपरेर खडेरी परेको बेलामा भ्यागुतासँग पानीको याचना गर्ने प्रचलन अहिलेसम्म पनि कायमै रहेकोे पाइन्छ । अझ मोरङ्को बुढीगङगा गाउँपालिकाको वडा नं. २ मा भ्यागुताको बिहे गरिदिएको दिनदेखि नै भारी वर्षा भएर अतिवर्षाले धनजनको ठूलो क्षति हुन थालेपछि भ्यागुता जोडीको सम्बन्ध बिच्छेदसमेत गरिदिएको उदाहरण पनि छ ।

अधिकाँश ठाउँका किसानहरुले भ्यागुताको पूजा र बिहे गरिदिए जस्तै ‘इन्द्र भगवान’को पूजा गर्ने प्रचलन पनि रहेको पाइन्छ । पर्सातिर कतै किसानहरु ‘इन्द्र भगवान’लाई वर्षाको देवताको रुपमा मान्छन् । खेती गर्ने समयमा पानी नपरेपछि किसानहरु हैरानी र छटपटिमा पर्छन् । छटपटिएका किसानी महिलाहरु जाग्राम बसेर ‘इन्द्र भगवान’लाई पुकार्दै गीत गाएर पानी माग्ने प्रचलन पनि रहेको पाइन्छ । ‘इन्द्र भगवान’लाई खुसी पारेपछि पानी पर्छ भन्ने किम्बदन्ती अझैसम्म पनि कायम रहेको पाइन्छ । इन्द्र भगवानको पूजा अर्चना गरेर पानी मागे जस्तै नवलपरासीतिर कतै ‘माइ पूजा’, गरेर पानी माग्ने प्रचलन रहेको पाइन्छ । गाउँका किसान महिलाहरु गाउँ बाहिर गएर पानीको गीत गाउँदै पूजा गरेर पानीको याचना गर्ने गर्छन् । यसरी पूजा गर्ने बितिकै पानी पर्छ भन्ने जनविश्वास अहिलेसम्म पनि कायम रहेको पाइन्छ । अझ थारु समुदायमा पानी माग्ने आफ्नै किसिमको प्रचलन रहेको पाइन्छ । जस्तै ‘मेघा लोट्ना’ (भ्यागुताको पूजा गर्ने), ‘हाँडी पटकना’, ‘गैया बेह्रना’ (गाई गोरु छेक्ने) र ‘लोकदोहारी’ (सजना गीत) को अनौठो संस्कृति प्रचलन रहिआएको पाइन्छ । ‘मेघा लोट्ना’ परम्पराअनुसार पानी माग्ने प्रचलनमा थारु समुदायका अधिकाँश केटाकेटीहरु सहभागी हुने गर्छन् । भ्यागुता समातेर भाँडोमा बोकेर ती केटाकेटीहरु नाङ्गो भएर ‘गोगा, गोगा, मेघा बाबा पानी दे’ भन्दै घर–घरमा गई आँगनमा लडिबुडि खेल्ने गर्छन् । एक गाउँदेखि अर्को गाउँसम्म पनि यसरी घर–घरमा पानी माग्दै जाने गर्छन् । त्यसरी मेघा लोटनामा आएका टोलीलाई गाउँलेले गच्छे अनुसार दक्षिणा दिइपठाउने प्रचलन रहेको पाइन्छ । त्यसको भोलिपल्ट बिहान मेघा लोटना आएका टोलीले नदी किनारमा भ्यागुतालाई घर बनाएर मिठो खानेकुरा पकाएर खान दिने र आफूहरु पनि खानेगर्छन् । यसरी मेघा लोट्न गरेपछि पानी पर्छ भन्ने जनविश्वास रहेको छ ।

पूर्वी तराईतिरका थारु समुदायमा पानी माग्न ‘हाँडी पटकना’ संस्कृति अनुशरण गर्दै आएको पाइन्छ । यो जटिन गीति नाट्य प्रारम्भ गर्नुभन्दा अगााडि गर्ने कार्य हो । यसमा भ्यागुतो कुटेर एउटा माटोको घैंटोमा गोबर र मलमूत्रसँगै हालेर गाउँका कुनै झगडालु महिलाको आँगनमा लुकिछिपी फ्याँक्ने गर्छन् । आफ्नो घरआँगनमा त्यस्तो वस्तु देखेपछि ती झगडालु महिलाले जति ठूलो आवाजमा तिनीहरुलाई गाली गर्छिन्, इन्द्र भगवान पनि त्यत्ति नै प्रसन्न भएर वर्षाको आदेश दिन्छन् भन्ने जनविश्वास रहेको पाइन्छ । पछिल्लो समयमा आइपुग्दा यो प्रचलन हराउँदै गएको पाइन्छ ।
अझ सुदूरपश्चिमतिर बैशाख जेठतिर पानी नपरेपछि त्यहाँका आदिवासी थारु समुदायमा पानी पार्न ‘गैया बेह्रना’ (गाई गोरु छेक्ने) गर्ने अनौठो संस्कृति रहेको पाइन्छ । खडेरी परेपछि त्यहाँका थारु महिलाहरु वर्षाको याचना गर्दै मध्यराति निर्वस्त्र भएर हलो जोत्ने परम्परा रहिआएको छ । निर्वस्त्र महिलाहरु कोही गोरु बन्ने, कोही हलो जोत्ने, कोही हली पिट्ने, कोदालो चलाउने अभिनय गर्दै प्रकृतिसँग पानी पार्न अनुग्रह गर्छन् । यस्तो परम्परा अहिलेसम्म पनि जीवितै रहेको पाइन्छ । त्यसको भोलिपल्ट ती महिलाहरु पुरुष वस्त्र (शर्ट, पाइण्ट, धोती) लगाएर छिमेकी गाउँमा गएर गोरु छेकेर प्रकृतिसँग पानीको याचना गर्छन् । त्यतातिरको लोकलय ‘सजना गीत’मा आपसी लोकदोहोरी गाउँदै पानी माग्ने परम्परा रहेको छ । त्यसरी पानी माग्ने संस्कृतिमा अन्य यौनजन्य शब्दार्थ पनि प्रयोग गर्ने प्रचलन रहेको पाइन्छ । सुन्दा एकादेशको कथा झैं लाग्ने तर प्रकृतिसँग पानी याचना गर्ने गैया बेह्रनामा सजना गीतमा ‘लोकदोहोरी’ गाउने प्रचलन रहेको पाइन्छ । यसका लागि एक गाउँका मान्छेले अर्को गाउँको गोरु या मान्छे बन्धक बनाउने चलन छ । त्यसरी बन्धक बनाइएकालाई छुटाउन उनीहरु सजना गीत गाउँछन् र छुटाउन आएका गाउँका मान्छेसँग नछाड्ने दोहोरी गाउने गर्छन् । गैया बेह्रना प्रचलन अनुसार थारु समुदायका महिलाले पुरुषको वस्त्र लगाएर जाने गर्छन् । यो दोहोरी हप्तादिनसम्म पनि चल्ने गरेको भनाई छ । यसरी गैया बेह्रना जाँदा सजना गीतमा लोकदोहोरी गाउँदा इन्द्र भगवान खुसी हुने र पानी पार्ने जनविश्वास रहेको पाइन्छ । पछिल्लो समय यो प्रचलन हराउँदै गएकोमा सिङ्गो थारु समुदाय चिन्तित देखिन्छन् । अझ कतै स्थानीय जनप्रतिनिधिलाई बाँधेर गाउँ डुलाएपछि पानी पर्छ भन्ने जनधारणा पनि पाइन्छ । केही वर्ष अघि पानी नपरेर हाहाकार भएको बेला नवलपरासीका सरावाल गाउँपालिकाका अध्यक्ष, वडाध्यक्षहरु र सदस्यहरुलाई गाउँका महिलाहरुले बाँधेर गाउँ डुलाएका थिए रे । त्यसरी जनप्रतिनिधिहरुलाई बाँधेर गाउँ डुलाएकाले पानी परेको भन्ने विश्वास गरिन्छ ।
पूर्वी तराईतिर बालीनाली लगाउने समयमा पानी नपरेपछि त्यहाँका गाउँघरमा ‘जट जटिन’ नृत्य गर्ने प्रचलन पनि छ । इन्द्र भगवानलाई खुसी पार्ने उद्देश्यले ‘जट जटिन’ नृत्य गर्ने प्रचलन रहिआएको भनाइ छ । जट जटिन नृत्य हेरेर इन्द्र भगवान खुसी भएपछि पानी पार्ने जनविश्वास पाइन्छ । जनकपुरतिर खेती गर्ने कृषकहरु जब पानीको अभावमा हुन्छन्, आकाशमा पुर्खाहरुको गुहारमा बल प्रदान गर्न एउटा लोकविधि अपनाउन पुग्छन् । इन्द्रलाई प्रेम वा दवाबले प्रभावित हुने अनुष्ठानको रुपमा जट जटिन नृत्य गर्छन् । जट जटिन नृत्य हेरेर इन्द्र भगवान खुसी भएपछि पानी पार्ने जनविश्वास समेत रहेको पाइन्छ । अझ झापातिरका राजवंशीहरुमा पानीका लागि गीत तथा नृत्य गर्ने चलन पाइन्छ । ‘झोल मका झोल, पानी बर्सोल’ भन्दै गीत गाएर उनीहरु गाउँघर डुल्छन् र घर आँगनमा गएर पानी पोख्दै हिलो बनाएर त्यसमा लत्पत भएर मनोरञ्जन गरेपछि पानी पर्छ भन्ने जनविश्वास रहेको छ ।
यस्तै काठमाडौं उपत्यकाका किसानहरु खास नेवाः जनजीवनले पनि पानी माग्ने संस्कृति अङ्गाल्दै आइरहेको छ । उपत्यकाका विभिन्न गाउँठाउँहरुमा पानी माग्ने तौरतरिका फरक फरक हुने गरेको छ । ठाउँ विशेष फरक हुनु स्वाभाविकै पनि हो । आखिर जे जस्तो तौरतरिका अपनाएर देवीदेवताको पूजाआजा गरे तापनि त्यसको मूल उद्देश्य पानीका लागि अनुग्रह गर्नु नै हो । त्यसरी खेतीपाती गर्ने समय खासगरी धान रोप्ने बेलामा पानी परेन भने खेतीकिसानीमा हाहाकार नै मचिने गर्दछ । रोपाई गर्ने समयमा पानी परेन भने एक किसिमको विपत्ती नै आइलागेको अनुभव गर्न पुग्छन् किसानहरु । त्यसैले उपत्यकाका अधिकाँश नेवाः समाजका खेतीकिसानी गर्नेहरु पनि अनेक उपाय निकालेर पानी माग्ने जुक्ति निकाल्छन् ।

उपत्यकामा पानी माग्ने संस्कृति

काठमाडौं उपत्यका पौराणिककालमा नागवंशका राजाले राज्य गरेको ठाउँ हो । त्यसैले अधिकाँश किसानहरुले नागदेवताको पूजा गरेर पानी माग्ने गरेको पाइन्छ । कतै महादेवको पूजाआजा गरेर पानी माग्ने गरेको पनि पाइन्छ । किनकि, महादेवको शीरबाट गङ्गा प्रादुर्भाव भएको हुनाले उनको आराधना गरेपछि पानी दिन्छ भन्ने किम्बदन्ती पाइन्छ । त्यसैले नेवाः समाजमा पानी माग्दा ‘हरहर महाद्यः, वा वय् द्यः’ भन्ने गर्छन् । उपत्यकाको लुभू (ललितपुर) मा पानी माग्न लाकुरीभन्ज्याङ् र लुभूको वस्तीभन्दा अलिमाथि रहेको वासुकिनागको पूजा गर्न जाने प्रचलन रहेको छ । लुभूमा क्वयनः (नेवाः जातिमध्येकै एक थर) समुदायबाट ती दुबै ठाउँमा बोका बलिसहितको पूजा लिएर पानी माग्न जाने परम्परा छ । त्यसरी पूजा अर्चना गरेपछि नागदेवताले पानी दिन्छ भन्ने जनविश्वास रहेको पाइन्छ । त्यहाँको वासुकिनागले पनौतितर्फ फर्केर बसेकाले उतातिर धेरै पानी पर्ने गरेको भन्ने जनविश्वास समेत पाइन्छ ।
मच्छेगाउँ र फर्पिङ्गका किसानहरुमा धिनच्व अर्थात् चम्पादेवी डाँडामा पानी माग्न जाने प्रचलन रहेको छ । चम्पादेवीको पूजाआजा गरेपछि निश्चय पनि पानी पर्छ भन्ने जनविश्वास छ । चम्पादेवीले पानी दिएको सम्बन्धी एउटा किम्बदन्ती स्थानीय जनजिभ्रोमा व्याप्त रहेको छ । जसअनुसार मच्छेगाउँस्थित मत्स्यनारायण चम्पादेवीसँग पानी माग्न गएछन् । फर्पिङ्गस्थित शेषनारायण पनि पानी माग्न त्यहीँ पुगेका रहेछन् । दुबैको सामू चम्पादेवीले “मलाई जसले सुनौलो फूल ल्याइदिन्छ, म त्यसैलाई पानी दिन्छु” भनिछन् । शेषनारायणको चलाखीले काँक्रा र फर्सिको फूल टिपेर लगिदिए छन् । चम्पादेवीले उसैलाई पानी दिइन् । मत्स्यनारायण सोझो मनले सुनको सुनौलो फूल लिएर ढिलो मात्र पुगेछन् । शेषनारायणलाई पहिले पानी दिइसकेकाले चम्पादेवलाई फसाद् प¥यो । मत्स्यनारायणलाई पनि नदिइ भएन । अनि दुबैलाई पालैपालो ६-६ महिना लैजानु भनेछन् । त्यसैले वर्षामा शेषनारायणले पाउने र हिउँदमा मत्स्यनारायणले पाउने गरी पानी बाँडफाँड गरिदिएको भन्ने किम्बदन्ती पाइन्छ ।
त्यस्तै ग्वंगःच्व महाःद्यः (भालेश्वर महादेव) को पूजा गर्नाले पनि पानी पर्छ भन्ने भनाइ रहेको छ । चन्द्रागिरि पर्वत श्रृङ्खलाको सर्वोच्च शिखरमा भालेश्वर महादेव विराजमान छन् । कोही कोही भालेश्वर महादेवको पूजाआजा गरेर पानी माग्न जाने गर्छन् । चखेलका तामाङ्हरुमा यस्तोविश्वास बलियो छ ।

त्यसैगरी कुनै कुनै जनसमुदायहरुले आफ्नै गाउँघरस्थित महादेवको पूजा अनुष्ठान लगाएर पानीको याचना गर्ने प्रचलन पनि रहेको देखिन्छ । स्मरण रहोस्, फूच्व (फूलचोकी डाँडा), धिनच्व (चम्पादेवी डाँडा), ग्वंगःच्व (भालेश्वर डाँडा), जामाच्व (नागर्जुन डाँडा) कोसाथै शिवपुरी र नगरकोटको उच्च पहाडी श्रृङ्खलामा पानी धेरै पर्ने गरेको पाइन्छ । ती भेगहरुमा पानी परेपछि काठमाडौं उपत्यकामा खेतीपाती गर्न सहज हुने जनधारणा छ ।

थानकोटमा पानी माग्ने संस्कृति

मुख्यतः यहाँ थानकोटमा पानी माग्ने संस्कृति सम्बन्धी प्रसङ्ग रोचक हुनेछ । यी माथिका ठाउँ विशेषमा पानी माग्ने तौरतरिका भन्दा थानकोटको अझ विशेष लाग्छ मलाई । थानकोटमा पानी माग्ने विशेष तौरतरिका र विधि अपनाउने गरिन्छ । थानकोट पौराणिक एवम् ऐतिहासिक सहर हो । यहाँ नेवाः समुदायको बाहुल्यता रहेको छ । त्यसैले यहाँ जे जतिे सांस्कृतिक र सांस्कारिक कार्यहरु हुन्छन् परम्परिक प्रथा र प्रचलन अनुसार नै हुने गरेको पाइन्छ । यहाँ अन्यत्रको भन्दा पृथक प्रकृतिको संस्कृति अङ्गाल्दै आइरहेको पाइन्छ । त्यसको एउटा ज्वलन्त उदाहरण हो पानी माग्ने संस्कृति । थानकोटमा पानी माग्ने बेलामा सिङ्गो गाउँले नै जुटेका हुन्छन् । मानौं त्यो दिन कुनै चाडपर्व वा उत्सव नै मनाइरहेको आभास हुन्छ । गाउँका उत्साहित बुढापाकादेखि युवायुवती र बालबालिकाका साथै जनप्रतिनिधिहरु समेत स्वःस्फूर्त सहभागी हुने गर्छन् । यसको मूल उद्देश्य रोपाईं गर्ने समयमा पानी नपरेकाले पानी माग्न जान तयारी गर्नु नै हो । थानकोटबाट पानी माग्न मुख्यतः दहचोक डाँडामा अवस्थित दहँकि÷दहँति (इन्द्रस्थान) मा जान्छन् । त्यहाँ इन्द्रदेव र वासुकिनागको पूजा आराधना गरिन्छ । त्यसका लागि सबै जोरजाम स्थानीय कोतघर (थानकोटको केन्द्र विन्दू) मा गर्ने परम्परा छ ।
पानी माग्न सबै जुटेपछि उत्सुकमध्येबाट एकजना पूजारीको रुपमा अग्रसर हुनैपर्छ । किनकि ती व्यक्तिले किरिया बसेसरहको (कपाल, आँखिभुईं र दाह्रीजुँगासमेत खौरेर) विधि अपनाएर कामकाज गर्नुपर्ने हुन्छ । उनका लागि सहयोगी अर्को दुईजना पनि चोखो भएर बस्नु पर्छ । पछिल्लो पटक २०६६ साल जेठमा पानी माग्ने कार्य आयोजना भएको थियो । त्यसबेला यस आलेखका पङ्तिकारले पनि सहभागी हुने मौका पाएको थियो । त्यसबेला दुईजना व्यक्ति पूजारी भइ कामकाज गर्न अग्रसर भएका थिए । किरिया बस्ने विधि अपनाएर उनीहरुले कामकाज गरेका थिए । उनीहरुका लागि अर्का दईजना पनि सहयोगी भइ कामकाज गरेका थिए । पूजा सामाग्री तयार पार्ने क्रममा खँड्कुलोमा भात पकाउनु पर्छ । सामान्यतया नेवाः समाजमा खँडकुलो प्रयोग गर्ने गरिँदैन । अझ त्यसमा भात पकाउनु भनेको त अशुभ नै मान्ने गर्छन् । तर पानी माग्न जाने बेलामा भने खँडकुलोमा भात पकाएर लिएर जानुपर्ने प्रचलन रहेको छ । अझ सनातनी हिन्दू पूजामा भातलाई चोखो मानिँदैन । तर यो कार्यका लागि भने नभई नहुने पूजा सामाग्री मध्येमा पर्ने गर्छ । त्यसदिन विहानै गाउँस्थित आराध्य देवीदेवताको पूजाआजा सम्पन्न गर्ने गरिन्छ । त्यसपछि पानी माग्न दहँकितिर जाने तरखरमा लाग्छन् । पानी माग्न जान गाउँका उत्साहित जनसमुदाय नै सहभागी हुन तयारी अवस्थामा बसेका हुन्छन् । पूजारी टोलीको साथमा जनसमूह उमङ्गकासाथ संगसंगै सहभागी भएर जाने गर्छन् ।

लामो समय पानी नपरेर खडेरी परेको बेलामा भ्यागुतासँग पानीको याचना गर्ने प्रचलन अहिलेसम्म पनि कायमै रहेकोे पाइन्छ । अझ मोरङ्को बुढीगङगा गाउँपालिकाको वडा नं. २ मा भ्यागुताको बिहे गरिदिएको दिनदेखि नै भारी वर्षा भएर अतिवर्षाले धनजनको ठूलो क्षति हुन थालेपछि भ्यागुता जोडीको सम्बन्ध बिच्छेदसमेत गरिदिएको उदाहरण अहिले पनि छ ।

दहँकितर्फ जाने क्रममा एकजना पूजारीको समूह इन्द्रस्थानमुनिको फाँटमा अवस्थित नागरा (नागगह्रा नाउँको खेत) मा जान्छन् । त्यहाँस्थित कुवामा पूजा गरेर साथमा लगेको भात चढाउने गर्छन् । त्यसरी भात चढाएर पूजा गरेपश्चात कुवा (अलिअलि पानी रहेको) मा कच्याककुचुक हुने गरी कुल्चेर खेल्छन् । त्यसरी कुल्चिँदा भ्यागुता निस्क्यो भने पानी पर्छ र माछा निस्केमा पानी पर्दैन भन्ने जनविश्वास रहेको छ । प्रायःगरी भ्यागुता नै निस्कने गरेको भुक्तभोगीहरु बताउँछन् ।
अर्को एकजना पूजारीको समूह चिधँ दहँकि (इन्द्रस्थानको पश्चिमतर्फ अवस्थित पानी मुहान) अर्थात् शक्रदेव स्थानमा पूजाआजा गर्न जान्छन् । त्यहाँ पनि भात चढाएर पूजा गर्ने प्रचलन छ । त्यसपछि दुबै पूजारी टोली इन्द्रस्थान पुग्छन् । त्यहाँ रहेका वासुकिनाग र इन्द्रदेवको पूजाआजा गर्छन् । वासुकिनागको पूजा गर्दा नागलाई पूरै ढाक्ने गरी भात चढाउँनु पर्छ । यसको अर्थ वासुकिनागलाई भात चढाएर जूठो पार्ने भनिन्छ । ती भात पखाल्नका लागि भए पनि पानी पर्छ भन्ने जनविश्वास रहेको छ । वासुकिनाग र इन्द्रदेवको पूजा गरिरहँदा सहभागी जनसमूहले उत्सुकता र उमङ्गकासाथ पानी माग्न थाल्छन् । आफूले जोहो गरेर तलैबाट लगेको पानी छ्यापाछ्याप गर्दै पानी माग्ने गर्छन् ।

‘हरहर महाद्यः’
‘वा वय् द्यःस’
‘वासुकि नाग’,
‘वा वयकिस’
भतिचा न मगा,
यक्क्व बिउ ।

(हरहर महादेव
पानी पारी देव
वासुकि नाग
पानी पारि देउ
अलि अलिले पुगेन
धेरै देउ !)

यसरी पानी माग्दै आउने समूहलाई बाटोमा पर्ने स्थानीयहरुले पिउने पानी र छ्याप्ने पानीको व्यवस्था गरिदिएका हुन्छन् । अनि पानी छ्याप्ने कार्य गर्छन् । पानी माग्न जाने टोलीले पानी राख्न एकातिर आँख्लाले प्वाल बन्द भएको बाँसको ढुङ्ग्रो बनाएर लगेका हुन्छन् । त्यसका लागि नजिकको बाँसझाङबाट बाँस काटेर बनाउने गर्छन् । पूजा अर्चना पश्चात ती जनलहर ‘हरहर महाद्यः, वा वय् द्यः’ भन्दै त्यहाँबाट दहचोक चौकिटार हुँदै बलबु (बलम्बु) मा प्रवेश गर्छन् । त्यहाँका स्थानीयहरुले खुसीसाथ उनीहरुका लागि ठाउँठाउँमा पानीको जोहो गरेर राखिदिएका हुन्छन् । साथै उनीहरुको अभिनन्दन स्वरुप घरको झ्याल र कौसीबाट पानी छ्यापिदिन्छन् । पानी माग्न जाने टोलीले पनि ती व्यवस्था गरिराखेका पानी भर्दै भेटृाएसम्मको झ्याल र कौसीमा पानी हुत्याउने गर्छन् । यही क्रममा ती पानी माग्ने टोली सतुङ्गः (सतुङ्गल) पुग्छन् । एवम् रितले हिलोसमेत छ्यापाछ्याप गर्दै पानी माग्दै हिँड्छन् । उत्साहित स्थानीय गाउँलेहरु पनि टोलीमा सहभागिता जनाउँदै पानी माग्दै हिँड्छन् ।
कुनै बेला सतुङ्गलबाट बोसिगाउँ हुँदै ल्वहँकोटसम्म पनि पुग्ने गर्छन् । किनभने बोसेगाउँबाट पनि पहिला पहिला दशैंको नवमीको दिनमा ‘ब्व छाः वय्गु’ भनेर थानकोटमा आउने गर्थे । यी सबै गाउँहरुलाई सांस्कृतिक रुपमा एउटै इलाकाको रुपमा लिइन्छ । त्यसपछि ती टोली किपुल्चा (किसिपिँढी) भित्र प्रवेश गर्छ । त्यहाँका सारा गाउँ्ले पनि खुसियालीमा रमाउन आतुर भइरहेका हुन्थे । हर्षोल्लासकासाथ त्यहाँ पनि पानी छ्यापाछ्याप गर्दै रमाउँने गर्छन् । पानी माग्दै आएका टोलीको बुलन्द आवाजले तरङ्गित वातावरणमा प्रायःसबै रमाएका हुन्थे । यसैक्रममा ती टोली महाःद्य गां (महादेव गाउँ–चेकपोष्ट) पुग्छन् । त्यहाँ पनि यसरी नै पानी माग्ने क्रम जारी राख्दै उमङ्ग भर्छन् । गाउँका सबैले ‘हो मा हो’ मिलाउँदै साथ दिइरहका हुन्छन् । अनि त के चाहियो र पानी माग्दै हिँड्ने टोलीलाई । सबै खुसीले गद्गद् हुन्छन् । यसरी ती गाउँहरु परिक्रममा गरेपछि अन्तिममा पानी माग्दै आएका टोली थानकोट आइपुग्छन् । यतिखेर साँझले लगभग घुम्टो ओढ्न आँटिसकेको पनि हुन्छ । तैपनि त्यहाँ झन उल्लासमय वातावरणमा ‘ननिचाय् महाःद्यः, वा वय् द्यः’ भन्दै लँथ टोलस्थित कल्पेश्वर महादेवसँग पानी माग्दै रमाइरहन्छन् । दिनभरिको थकान र पानीले रुझेर कठ्याङ्ग्रिएको शरीर भए तापनि हँसिलो मुहारमा पानी माग्दै हिँडेका टोलीका उत्साहित समूह कोतघरमा पुगेपछि विसर्जन हुन्छ । यसरी पानी माग्दा त्यही दिन पानी पर्ने गरेको कुरा बुढापाकाहरु बताउँछन् । त्यही दिनमा पानी नपरे तापनि त्यसको केही दिनपछि परिहाल्छ भन्ने जनविश्वास रहेको छ । पानी माग्दै हिँड्दा यौनजन्य शब्दार्थ पनि प्रयोग गर्ने गरेको सुनिन्छ । त्यसबेला अश्लील शब्द प्रयोग गर्नु सामान्य नै मानिन्छ । जुनसुकै भाषामा उछृङ्खल शैलीमा भट्याउँदा देउताले आजीत भएर पानी दिन्छ भन्ने जनविश्वास रहेको पाइन्छ । यसरी पानी माग्न जाँदा कोही उछृङ्खल ब्यक्तिहरुले बाँसको भाटा समेत बनाएर लगेको हुन्छन् । ती भाटाले पानी माग्न जाने गाउँघरका कसैको झ्यालमा खुर्सानी, लसून, छ्यापी र साग जस्ता बस्तु माला उनेर झुण्याई राखेको देख्नासाथ घोचा हानेर झारिदिने प्रयास गर्ने गरेको देख्नेहरु बताउँछन् । यस्तो कार्यले कतै कतै झगडा पनि हुने गरेको भुक्तभोगीहरु बताउँछन् ।

उपसंहार

जस्तोसुकै खडेरीको सामना गर्दै उमङ्गले भरिएको स्वरमा भट्याउँदै पानी माग्न समूह समूह तयार हुनेगर्छ । जुनसुकै विधि र पद्धतिबाट पानी माग्ने संस्कृति अवलम्बन गरेको भए तापनि समग्रतामा प्रकृतिसँग पानीको आग्रह र अपेक्षा गर्ने नै हो । पानी छ्यापाछ्याप गरेर खेल्ने भएकाले यसलाई रङ्ग बिनाको होली पनि भन्न सकिन्छ । एउटा जनविश्वास हो, एउटा लोकसंस्कृति हो । हुन त, नेपाल सिमसारको धनी राष्ट्रको रुपमा पनि लिएको पाइन्छ । अझ हिमाली भूभागबाट बग्ने पानीको स्रोत त अतुलनीय नै छ । यसको सही ढङ्गले पहिचान र प्रयोग गर्न सकेको छैन । उचित भण्डारण र स्वच्छीकरण गर्नसकेमा सायद यसरी पानी माग्दै हिँड्नु पर्ने थिएन कि ! अझ केनै समस्या आउने थिएन । जेहोस्, पानी माग्ने संस्कृति नेपालको आफ्नै परम्परा हो । प्रकृतिको पूजा आराधना गर्नु नेपालीको आफ्नै विशेषता हो । यस्तो मौलिक संस्कृतिको जगेर्ना गर्नु हाम्रो दायित्व र धर्म पनि हो । जनविश्वास नै सर्वोपरि विश्वास हो, लोकसंस्कृति हो । लोकसंस्कृतिको जगेर्ना गर्नुपर्छ र गरिनुपर्छ ।

लेखक : भीमनारायण श्रेष्ठ चन्द्रागिरि–४ थानकोट, काठमाडौं ।
हाल क्यानडा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय