भोजपुर । वन क्षेत्रको विकाससँगै किसानलाई उद्यममा जोड्न भोजपुरमा साढे आठ हजार बढी बिरुवा वितरण गरिएको छ । डिभिजन वन कार्यालयले भोजपुर जिल्लाका किसानलाई आयआर्जनमा जोड्ने लक्ष्यसहित दाँते ओखर, टिमुर, रुद्राक्षलगायतका बिरुवा वितरण गरेको हो ।
किसानलाई वन उद्यममार्फत आयआर्जनमा जोड्न, ३ हजार २ सय दाँते ओखर, १ हजार ६ सय टिमुर, १ हजार १ सय सतुवा, १÷१ हजार रुद्राक्ष र तेजपत्ता र ५ सय ५० वटा लोड सल्लाको बिरुवा वितरण गरिएको छ । जिल्लाका किसान, कृषि तथा जडीबुटी फर्म, वन समूह तथा विभिन्न संस्थालाई मागका आधारमा बिरुवा वितरण गरिएको हो । हरित क्षेत्रको विकाससँगै किसानको आर्थिक रुपमा टेवा पुर्याउने उद्देश्यले बिरुवा वितरण गरिरहेको डिभिजन वन कार्यालयका वन अधिकृत कपिलदेव अधिकारीले जानकारी दिनुभयो ।



स्थानीय सामुदायिक वन उपभोक्ता समूह, वन पैदावार व्यवसायी संघ, सरोकारवाला, संस्थाका प्रतिनिधिको सहभागितामा भोजपुर नगरपालिका– ५ मा रहेको भकिम्ले सामुदायिक वनमा वृक्षरोपण गरिएको हो ।



