काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ र १२ मा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था मिलाएको छ। महानगर क्षेत्रभित्रका संस्थागत विद्यालयमा पढ्न चाहने विद्यार्थीलाई लक्षित गर्दै छात्रवृत्ति कार्यक्रम सुरु गरिएको हो। महानगरले सार्वजनिक सूचना जारी गर्दै आज असार १८ देखि अनलाइन आवेदन फाराम खुला गरेको जनाएको छ। इच्छुक विद्यार्थीहरूले असार २७ गतेसम्म अनलाइन माध्यमबाट फाराम भर्न सक्नेछन्।
प्रवेश परीक्षा अनिवार्य



छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीहरूले अनिवार्य रुपमा प्रवेश परीक्षा दिनुपर्नेछ। परीक्षा आगामी साउन ३ गते बिहान ८ बजेबाट १० बजेसम्म सञ्चालन हुनेछ। महानगरका अनुसार परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित १०० अङ्क बराबरका वस्तुगत (MCQ) बहुवैकल्पिक प्रश्नहरूमा आधारित हुनेछ।
अनलाइन आवेदन गर्ने तरिका
विद्यार्थी वा अभिभावकले महानगरको वेबसाइट entrance.kathmandu.gov.np मा गएर सिधै अनलाइन आवेदन दिन सक्नेछन्। फाराम भर्दा आवश्यक विवरण, फोटो, र आवश्यक कागजातहरू अपलोड गर्नुपर्नेछ।
कोटा र परीक्षा केन्द्र पछि सार्वजनिक गरिने
महानगरले विद्यालयगत छात्रवृत्तिको कोटा संख्या र परीक्षा केन्द्रको विस्तृत विवरण पछि सार्वजनिक गरिने जनाएको छ।



