मुस्ताङ । मुस्ताङको जोमसोममा वायु गुणस्तर मापन केन्द्र स्थापना गरिएको छ । नेपाल सरकारको वातावरण विभागले जोमसोमस्थित शालिग्राम उद्यान पार्कमा केन्द्रको स्थापना गरेको हो ।
सरकारले ३१औं वायु गुणस्तर मापन केन्द्र स्थापनाका लागि आवश्यक भौतिक संरचना तथा प्रविधि जडान गरेको छ । वातावरणीय स्वच्छता कायम राख्ने, प्रदूषणलाई निश्चित सीमाभित्र सन्तुलनमा राख्ने, दिगो विकासका अङ्गसँग जोड्ने र मानव स्वास्थ्यलाई प्रतिकूल हुन नदिनेलगायत उद्देश्य राखेर मापन केन्द्र स्थापना गरिएको विभागका महानिर्देशक ज्ञानराज सुवेदीले जानकारी दिनुभयो ।



समुन्द्री सतहको ३ हजारभन्दा माथि उचाइमा विश्वका ५ स्थानमा यस्तो वायु गुणस्तर मापन केन्द्र स्थापना भएको र त्यसमध्ये मुगुको रारा र मुस्ताङमा गरी नेपालमा २ वटा रहेको छ । यसअघि नेपालका ३० जिल्लामा वायु गुणस्तर मापन केन्द्र सञ्चालनमा ल्याइसकेका छौँ । मुस्ताङमा प्रविधि जडानका लागि एक करोड रुपैयाँ बढी खर्च भएको विभागका महानिर्देशक सुवेदीले बताउनु भयो ।
मापन केन्द्रमा प्रविधि जडानसँगै यसको परीक्षण प्रसारण भइरहेको र त्यस क्रममा त्यहाँको वायु गुणस्तर अंक तीन मात्रै देखिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले औसत ५० अंकसम्मलाई वायु गुणस्तर राम्रो रहेको जनाएको छ ।



